संघ सरकारबाट बाहिरिए उपेन्द्र यादव

२०८१ बैशाख ३१, सोमबार ११:२३
उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल

टोलपडोस समाचारदाता

जनकपुरधाम, ३१ वैशाख ।

जनता समाजवादी पार्टी नेपाल संघ सरकारबाट बाहिरिएको छ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका पार्टी अध्यक्ष एवम् उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले मन्त्री पदबाट सोमबार बिहान राजीनामा दिएका छन् ।

जसपा नेपाल विभाजन गरी पार्टीका अशोक राईसहित सात सांसदले जसपा नामक पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए । विभाजित जसपामा रहेका नवलकिशोर साह सुडी वन तथा वातावरण मन्त्री छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सत्ता टिकाउन जसपा नेपाल विभाजन गराएको तीन दिनअघि सिन्धुलीमा आयोजित एक कार्यक्रममा स्वीकार गरेका थिए भने पार्टी विभाजनका लागि नेकपा एमाले अध्यक्ष केपी शमौ ओलीले तारतम्य मिलाएको अनुमान गरिएको छ ।

सोही कारणले जसपा नेपाल सरकारबाट बाहिरिने अड्कल गरिएको थियो । यद्यपि जसपा नेपालका अध्यक्ष यादवले तत्काल सरकारमा रहिरहने बताउँदै आएका थिए ।

आइतबार जसपा नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री दाहालले उपप्रधान एवम् स्वास्थ्य तथा जनसँख्या मन्त्री रहेका अध्यक्ष यादवलाई राजीनामा बुझाउन निर्देशन दिएका सञ्चारमाध्यममा आएको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH