गलत सूचना ‘चुहाएर’ पूर्वमन्त्री समीमको हुर्मत लिने दुष्प्रयास

२०८१ जेष्ठ १, मंगलवार २१:५२


टोलपडोस समाचारदाता
जनकपुरधाम, १ जेठ ।
समाचारका स्रोत पूर्वाग्रही र स्वार्थप्रेरित भएपछि गलत, मनगढन्त र भ्रामक सूचना पनि विश्वसनीय ढंगले वितरण गर्न सक्छन् । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका एक कर्मचारीले मंगलबार बिहान सञ्चारकर्मीहरूलाई बडो सतर्कतापूर्ण स्वरमा एउटा सूचना चुहाए । मानौं त्यो सूचना अत्यन्त गोप्य, प्रमाणिक र सनसनीपूर्ण होस् ।

सूचना थियो, मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समीमले मन्त्रालयमा पुगेर मन्त्रीको कार्यकक्षमा प्रवेश गरेकोे, मन्त्रीको कुर्सीमा बसेको र त्यहाँ करारमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिएको । केही दिनमा आफू मन्त्री भएर सोही मन्त्रालयमा आउन लागेको भन्दै कर्मचारीसँग आफूपछि मन्त्रीको कार्यभार सम्हालेका राजकुमार लेखीको कार्यकालमा भएका कामकाजको विवरण माग गरेको भन्दै ती कर्मचारीले सूचनालाई थप नाटकीय ढंगले प्रस्तुत गरे ।

सोमबार मन्त्रालय पुगेका पूर्वमन्त्री समीमको सो व्यवहारबारे श्रव्य वा श्रव्यदृश्यसहितको प्रमाण सञ्चारकर्मीले माग गरेपछि ती कर्मचारीले पूर्वमन्त्री समीम मदिरापान गरेको अवस्थामा रहेकाले आफूहरूले मोबाइल प्रयोग गरी दृश्य कभर गर्न नपाएको भन्दै पन्छिए ।

एक कर्मचारीबाट प्राप्त सूचनालाई पुनरीक्षण गर्दा सत्यापन हुने तथ्य प्राप्त गर्न नसकेपछि जनकपुरधामबाट प्रकाशित हुने एक सञ्चारमाध्यमले त्यससम्बन्धी समाचार प्रकाशन गरेन । त्यस सञ्चारमाध्यमका सम्पादकले भने, ‘हिजोको घटनाक्रमबारे एक कर्मचारीले बेलीविस्तार लगाउँदा एकछिन त पत्यार नै लागेको थियो । तर, अन्य स्रोतबाट बुझ्दा त्यस्तो घटना भएको पर्याप्त आधार पाइनँ र मिथ्या सूचनालाई समाचार बनाइनँ ।’

तर, सोही घटनाबारे भने अर्को सञ्चारमाध्यमले समाचार बनायो । समाचारमा घटनाबारे पूर्वमन्त्री समीम र मन्त्रालयका अधिकारीहरूका भनाइ समेटिएका छन् । ती भनाइमा घटना भएकै बारे यकिन तथ्य समाविष्ट छैन । घटना भएको भन्दै प्रतिक्रिया लिइएको छ ।

‘पत्रकारिता गर्नेका लागि एउटा खतरनाक व्यूह रचियो । जहाँ नभएका कुरालाई घटना बनाइयो र त्यसबारे प्रतिक्रिया लिन लगाएर घटना भएकै हो भन्ने स्थापित गर्न लगाइयो,’ पत्रकारिताका एक जानकारले भने, ‘प्राथमिक र अन्य स्रोतप्रति पत्रकारको अन्धविश्वासको परिणामका रूपमा यस्तो हुन्छ । कथित घटनाप्रति प्रतिक्रिया लिएर समाचार बनाइरहँदा समाचारलाई सन्तुलित गर्ने भ्रममा पर्ने पत्रकारले यसबाट कसैको अपूरणीय मानमर्दन हुने हेक्का राखेको पाइएन ।’

ती जानकारले कहिलेकाहीँ पत्रकारलाई नै उपयोग गर्नेगरी चुहाइने सूचनाको प्रयोगमा सावधानी नअपनाउँदा हुने त्रुटिका कारणबारे भने, ‘प्राथमिक स्रोतले दिने सूचनाबारे अन्य नजिकका स्रोतबाट पुष्टि गराउँदा यस्तो समस्या हुन्छ । यस्तोमा समाचारको सन्तुलन व्यवस्थापन भए पनि तथ्य भ्रामक हुनसक्छ ।’

मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले पूर्वमन्त्री समीम सोमबार मन्त्रालयमा आए पनि मन्त्रीको कार्यकक्षमा प्रवेश नगरेको र मन्त्रीको कुर्सीमा नबसेको बताए । उनले प्रदेशसभा सदस्यहरू मन्त्रालयमा आउनु र कर्मचारीसँग कुरा गर्नु स्वाभाविक भएको तर त्यसलाई सञ्चारमाध्यममा अतिरञ्जित र अनर्गल ढंगले प्रकाशन गरिएको उल्लेख गरे ।

उनले घटना भएको भनिएको समयमा आफू बाहिर रहेको र त्यसबारे जानकारी भएपछि मन्त्रालयका कर्मचारीहरूसँग बुझ्दा तथा सिसिटिभी फुटेज हेर्दा त्यस्तो केही नभएको जानकारी दिए ।

पूर्वमन्त्री समीम मदिरापान गर्नेगरेका छैनन् । तर, उनका विषयमा पत्रकारसँग भ्रामक कुरा गरेका कर्मचारीले उनका बारेमा मदिरापान गरेको अवस्थामा आएको जानकारी दिएका छन् । ‘पूर्वाग्रहको बोझले थिचिँदा ती कर्मचारीले समीम मदिरापान नगर्ने गरेको बिर्से । उनको व्यवहारबारे थप जानकारी जुटाउन नसक्दा पत्रकार पनि यहाँनेर चुके,’ पत्रकारिताका जानकार ती व्यक्तिले भने ।

यता पूर्वमन्त्री समीमले सोमबार आफू मन्त्रालय गए पनि सञ्चारमाध्यममा आएजस्तो केही नभएको बताए । उनले भने, ‘म दुईपटक प्रदेशसभा सदस्य निर्वाचित भएको र मन्त्री भएको व्यक्ति हुँ । मलाई कुनै पनि ठाउँमा जाँदा गरिने व्यवहारका बारेमा थाहा छ ।’

उनले सञ्चारमाध्यममा आएजस्तो हर्कत आफूले गरेको कसैले प्रमाणित गरिदिए सार्वजनिक जीवनबाटै सन्नयास लिने चुनौती दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH