मधेश प्रदेशमा जसपा नेपालका सांसद एकजुट, संसदीय दलको बैठक जारी
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ जेठ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश संसदीय दलको बैठक जारी छ । मुख्यमन्त्री निवास मधेश भवनमा भइरहेको बैठकमा पार्टी केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णय कार्यान्वयन, विश्वासको मत, सरकारको नीति तथा कार्यक्रम एवम् बजेट आदिक विषयमा छलफल भइरहेको पार्टीका प्रदेशसभा सदस्य मनिष सुमनले बताए ।
सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले जसपा नेपालबाट विभाजित दलमा सही सनाखत गर्ने प्रक्रिया रोकिएपछि पार्टी संसदीय दलको बैठक बसिरहेको हो ।
बैठकमा पूर्वमुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य लालबाबु राउतबाहेक पार्टीका सबै प्रदेशसभा सदस्य सहभागी रहेको सुमनले जानकारी दिए । उनले भने, ‘पूर्वमुख्यमन्त्रीज्यू कार्यव्यस्तताले बैठकमा आउन सक्नुभएन । त्यस अलावा हामी सबै उपस्थित छौँ ।’
मधेश प्रदेशसभामा जसपा नेपालका १९ सदस्य छन् ।
बैठकमा सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र लिनुपर्ने विश्वासको मतका लागि दलहरूसँग वार्ता गरी सहमति कायम गर्ने र नयाँ सत्तासमीकरणको स्वरूप तथा सम्भावनाका विषयमा समेत छलफल भइरहेको छ ।
प्रदेशसभा सदस्य सुमनले मुख्यमन्त्री यादवले निर्धारित समय अगावै विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्ने जानकारी दिए ।