गिरीबन्धु टी स्टेटको निर्णय एमालेको पालामा भएको हो : सभापति देउवा

२०८१ जेष्ठ ३, बिहीबार १४:०९

काठमाडौँ, ३ जेठ (रासस) । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । आज काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६औँ साधारणसभा तथा लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा उनले लोकतन्त्रलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

सभापति देउवाले लोकतन्त्र र नेपाली कांग्रेसको सङ्गठनलाई बलियो बनाउन पूर्वमन्त्री योगप्रसाद उपाध्यायको महत्त्वपूर्ण योगदान रहेको बताए । “योगप्रसादजी पुरानो मात्र होइन राजनीतिक आन्दोलनको ठूलो नेता हुनुहुन्छ, २०१७ सालको आन्दोलनमा प्रवासमा बसेर प्रजातन्त्रका लागि लड्ने व्यक्तिलाई सम्मान गर्न पाएकामा खुसी लागेको छ,” उनले भने ।

सभापति देउवाले गिरीबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा नभई एमालेको पालामा भएको बताए । “काँग्रेसलाई दोष लगाउन मिल्दैन,” उनले भने ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जनताले सडकमा उठाएको कुरालाई कांग्रेसले संसद्मा उठाएको बताए । “राजाको धम्कीसँग नडराएको काँग्रेस कुनै राजनीतिक दलको धम्कीसँग डराउँदैन,” उनले भने । उनले मुलुक पछिल्लो समय जटिल अवस्थामा रहेको उल्लेख गर्दै यसलाई अगाडि बढाउन कांग्रेस अग्रसर हुनुपर्ने बताए । नेता डा. कोइरालाले प्रहरी प्रशासनको समेत उच्च तहमा रहेका गृहमन्त्री रवि लामिछानेले आफूसमेत मुछिएको सहकारी ठगीको छानबिनमा सघाउनुपर्ने बताए । उनले अहिलेको निर्वाचन प्रणालीले मुलुकमा अस्थिरता देखिएको बताए । निर्वाचन प्रणाली परिवर्तन गर्दा कुनै दलको बहुमत आउनेगरी जानुपर्ने नेता कोइरालाको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले लाखौँ सहकारीपीडितको आवाजलाई सम्बोधन गर्न काँग्रेसले संसदीय समितिको माग गरेको बताए । एमालेले सुन समिति बनाउन माग गर्दै २२ दिन संसद् अवरोध गरेको इतिहास रहेको उल्लेख गर्दै संसदीय समिति निर्माण नगरेसम्म संसद् चल्न नदिने उनले स्पस्ट पारे ।

काँग्रेस नेता प्रदीप पौडेलले लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण सुझाव पार्टीलाई आवश्यक रहेको उल्लेख गरे । “संविधान निर्माण गर्दा हामीले नचाहेका कतिपय कुरा पनि राख्नुपरेको छ, अब यसलाई सच्याएर अगाडि बढ्नुपर्छ,” उनले भने । सुशासन र भ्रष्टाचार अन्त्यको विषय काँग्रेसको प्राथमिकतामा पर्नुपर्ने नेता पौडेलको भनाइ थियो ।
“सरकारमा बस्नेले प्रश्न गर्ने होइन उत्तर दिने हो, अदालतले गरेको निर्णयमा समेत धम्की दिने काम सत्तापक्षबाट भएको छ, यसले लोकतन्त्रलाई कमजोर बनाउँछ,” उनले भने ।

संविधानविद् डा भीमार्जुन आचार्यले सन् २०२३ को तथ्याङ्कले संविधान कार्यान्वयनमा हेर्दा नेपाल विश्वको ७१औँ स्थानमा देखाएको बताए । “संविधानलाई धेरै हेरफेर ग¥यो भने त्यो मुलुकमा कहिल्यै स्थायित्व हुँदैन,” उनले भने । संविधानविद् आचार्यले अदालतभित्र पार्टीबाट छानेर पठाएका व्यक्ति हुँदा लोकतन्त्र कमजोर हुँदै गएको बताए ।

पूर्वमन्त्री सुरेश मल्लले सङ्कटमा परिरहेको बेला लोकतन्त्रलाई बलियो बनाउन प्रजातान्त्रिक विचार समाज अगाडि बढ्नुपर्ने उल्लेख गरे । प्रजातान्त्रिक विचार समाजका निवर्तमान अध्यक्ष डा. केदारनरसिंह केसीले प्रजातान्त्रिक विचार समाजलाई पार्टीको वैचारिक थलोका रूपमा अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मान गरिएको थियो । उनलाई नगद रु २५ हजार र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो । विसं २०५२ मा स्थापना भएको प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक संस्कार र पद्धतिलाई बलियो बनाउँदै अगाडि बढिरहेको समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH