नयाँ सरकार बनाउन एकदुई दिनमै दाबी पेश गरिने दाबी
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ जेठ ।
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी नेपालको बिहीबार बसेको संसदीय दल बैठकले आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिन काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग सहकार्यका लागि संवाद गर्ने निर्णय गरेको केही घन्टा नबित्दै नेकपा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनले नयाँ सरकार गठन गर्ने बहुमत पुर्याएको दाबी गरेको छ ।
नयाँ सरकारका लागि कसरत गरिरहेको नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमतबीच सहमति भइसकेको र लोसपा र नेकपा(एकीकृत समाजवादी) सँगको कुराकानी निष्कर्षनजिक पुगेको बताए ।
उनले भने, ‘एमालेले सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि विश्वासको मत दिएपछि नेकपा (एकीकृत समाजवादी) पनि नयाँ सरकारका लागि सकरात्मक बनेको छ । लोसपा पनि नयाँ गठबन्धनमा आबद्ध हुने निश्चित छ ।’
संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने जसपा नेपालको संसदीय दलका नेता एवम् मुख्यमन्त्री सरोजकुमार यादव सरकारमा नेकपा (एकीकृत समाजवादी) अझै सहभागी छन् । सुदूरपश्चिममा नेकपा पार्टीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री छन् । उनलाई मुख्यमन्त्रीका लागि नेकपा एमालेले विश्वासको मत दिएको छ ।
माओवादी संसदीय दलका नेता साहले जनमत र लोसपासँगको कुराकानी अन्तिम रूप दिई एकदुई दिनमै मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने जानकारी दिए । उनले नेतृत्वका विषयमा लगभग टुङ्गो लागिसकेको भए पनि अहिले सार्वजनिक गर्न नमिल्ने बताए । प्रदेशसभामा नौ सदस्य रहेको माओवादी संसदीय दलका नेता साह मुख्यमन्त्रीका लागि आफैँ आकांक्षी छन् ।
मुख्यमन्त्रीका लागि सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेले माग गरिरहेको छ । प्रतिपक्षमा रहेको जनमत पार्टीले मुख्यमन्त्रीलाई बटमलाइन नै बनाएको छ । नयाँ सत्तासमीकरणमा निर्णायक बन्नसक्ने भनिएको लोसपा नेपालले समेत मुख्यमन्त्रीको माग गर्दैआएको छ ।
जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादवले मधेशको सरकार केन्द्रीय गठबन्धनअनुरूपका दलको सहभागितामा बन्ने बताए । उनले अहिले आफूहरू सङ्घीय सत्ता गठबन्धनमा नरहेको र मधेशमा मुख्यमन्त्री दिए मात्र आफूहरू मौजुदा सो गठबन्धनको हिस्सा बन्ने प्रस्ट्याए ।
उनले प्रदेशमा जसपा नेपालको नेतृत्वलाई निरन्तरता दिनेगरी काँग्रेस र लोसपाले संवाद गर्न सहमत नहुने उल्लेख गरे । उनले भने, ‘मुख्यमन्त्री यादवको राजीनामा आएपछि मात्र काँग्रेससहितको सरकारका विषयमा कुरा गर्न सकिन्छ ।’
यता नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकार बनाउन कसरत गरिरहेकाहरू सरकारको रूपरेखा कोर्न काठमाडौं गए पनि आफू जनकपुरमै रहेको बताए । उनले जनकपुरमै बसेर नयाँ समीकरण बनाउन छलफल गर्न आफूले अन्य दलका नेतालाई भनेको पनि सुनाए ।
एमालेले जनमत पार्टीको नेतृत्व स्वीकार गरेको हो भन्ने प्रश्नमा उनले भने, ‘केन्द्रीय तहमै सहमति लिएर आएपछिको कुरा फरक होला तर प्रादेशिक स्तरमा त्यस्तो कुराको टुंङ्गो लागेको छैन ।’