मधेश प्रदेश : लोसपा र नेकपा(एस) ले विश्वासको मत दिने मुख्यमन्त्रीको दाबी कायमै
टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ जेठ ।
मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा आफ्नै सरकारले निरन्तरता पाउने दाहोर्याएका छन् । उनले जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र नेकपा (एकीकृत) अझै एकै ठाउँ रहेको दाबी गरेका छन् । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग लोसपा नेपाल र नेकपा (एकीकृत समाजवादी) कुनै पनि हालतमा नजाने प्रस्ट्याए ।
शुक्रबार जनमत र नेकपा माओवादी केन्द्रका नेताहरूले जनमत नेतृत्वमा एमाले, माओवादी, लोसपा र नेकपा(एकीकृत समाजवादी) को नयाँ सरकार गठन हुने सहमति भएको दाबी गरेका थिए । मुख्यमन्त्री यादवले सोही दाबीको प्रतिक्रियामा लोसपा र नेकपा(एकीकृत समाजवादी) आफूहरूसँगै रहेको स्पस्ट पारेका हुन् ।
चक्रीय प्रणालीलगायत अन्य विषयमा सहमति हुन सक्ने भए पनि जनमत पार्टी चारदलीय गठबन्धनमै रहने ठोकुवा गर्दै नयाँ सरकारका विषयमा फरक सहमति भएको कुरा पत्यारिलो नभएको बताए ।
आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन माधव नेपाल र महन्थ ठाकुरसँग आफ्नो कुराकानी भएको र उनीहरू सहमत भएको मुख्यमन्त्री यादवको भनाइ छ ।