मधेश प्रदेश : पाँचदलीय सरकार बनाउन सहमति भएको लोसपा र नेकपा एसद्वारा अस्वीकार, एमाले पनि बेखबर

२०८१ जेष्ठ ४, शुक्रबार २१:२९


टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ जेठ ।
जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेशमा शुक्रबार पाँच दलीय सरकार बनाउने संघीय नेतृत्व तहमा सहमति भएको कुरालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) ले अस्वीकार गरेका छन् ।

जनमत पार्टी र नेकपा माओवादी केन्द्रका प्रादेशिक नेताहरूले शुक्रबार साँझ नेकपा एमाले, लोसपा र नेकपा (एकीकृत समाजवादी) सहित नयाँ सरकार बनाउने संघीय तहमा सहमति भएको दाबी गरेका थिए । त्यसलगत्तै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीे र जनमतका दाबी भरपत्यारिलो नभएको ठोकुवा गरेका छन् ।

मधेश प्रदेशसभामा लोसपाका प्रमुख सचेतक रानी शर्माले जनमत पार्टीको नेतृत्व स्वीकार गरेर एमाले र माओवादीसहितको नयाँ सरकार बनाउने सहमति भएको कुरा गलत भएको बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका नेताहरूसँग केन्द्रमा विश्वासको मत तथा प्रदेशमा सत्ता समीकरणका विषयमा छलफल भएको जानकारी दिँदै पार्टी अध्यक्ष ठाकुरले पार्टीभित्र थप सल्लाह गरेर उत्तर दिने उहाँहरूलाई बताएको जानकारी दिइन् ।

प्रमुख सचेतक शर्माले लोसपा नेपाल केन्द्रमा काँग्रेससँगको गठबन्धनमा रहेको उल्लेख गरिन् ।

लोसपा प्रमुख सचेतक शर्माले सरकार बनाउने विषयमा कुनै किसिमको सहमति भएको बारे पार्टीको केन्द्रीय नेतृत्वबाट कुनै पनि जानकारी नआएको भन्दै प्रादेशिक तहमा जनमत, माओवादी र अन्य दलसँग बसेर सरकार बनाउने विषयमा शनिबार थप छलफल गर्ने बैठकबारे जानकारी नआएको बताइन् । उनले भनिन्, ‘त्यस्तो कुनै बैठक छ भने जाने कुरा आउँदैन ।’

शुक्रबार नै पाँचदलीय सहमति गरेका माओवादी संसदीय दलका नेता साहले शनिबार मन्त्रालय बाँडफाँडलगायतका विषयमा छलफल गर्न प्रादेशिक तहमा पाँचदलीय बैठक बस्ने दाबी गरेका थिए ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता एवम् प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दप्रसाद न्यौपानेले आफूहरू प्रदेशमा जसपा नेपालसँगै रहेको बताए । उनले प्रदेशको सत्ता समीकरणबारे कुरा भइरहँदासम्म केन्द्रबाट कुनै पनि जानकारी नआएको प्रस्ट पारे ।

नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवले जनमत र माओवादीले दाबी गरेझैँ नयाँ सरकार गठनका लागि केन्द्रमा कुनै पनि सहमति भएको बारे आफू जानकार नरहेको बताए ।

टोलपडोससँग शुक्रबार साँझ एमाले संसदीय दलका नेता यादवले भने,‘हो र त्यस्तो सहमति भएको छ । यसबारे कतैबाट केही जानकारी आएको छैन ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH