मधेश प्रदेश : नेकपा(एस) सँगै रहनेमा उपेन्द्र ढुक्क, तर लर्बरियो बोली नेपालको
टोलपडोस समाचारदाता
जनकपुरधाम, ८ जेठ ।
मधेशको सत्ता समीकरणका बारेमा नेकपा (एकीकृत समाजवादी) कित्ताकृत हुने विषयमा अलमलमा छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार विश्वासको मत दिएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले सोही दिन जनकपुर विमानस्थलमा मधेश प्रदेश सरकारमा आफ्ना पार्टीका मन्त्री सहभागी भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कार्य औपचारिक्ता, मान्यता र नैतिक रहेको बताए । तर, उनले ‘हेर्दै जाउ, अब कसरी हुन्छ’ भन्न बिर्सेनन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले मंगलबार बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा सोही कुरा दोहोर्याएका छन् । उनले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारमा आफ्ना पार्टीका तर्फबाट मन्त्री रहेको पूर्ववत् बताए । तर उनले थपे, ‘मान्छेको जिन्दगीको ठेकान हुन्छ ? बस्दाबस्दा हाय गर्छ । हाय गर्दै जान्छ । जान्छ भनेको सय वर्ष बाँच्छ ।’
उनले अहिले भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हातेमालो गरेर अघि बढेको बताए । उनले यसो भनिरहँदा जसपा नेपालबाट विभाजित जसपा अध्यक्ष अशोक राईसँग यात्रा गर्ने इच्छासमेत व्यक्त गरे । सत्ता समीकरणको प्रसङ्गमा घटनाक्रमले कुन मोड लिने हो भन्दै पूर्वानुमान गर्न नहुने बताएका नेपालले भने यादव र राई एक ठाउँ आउन सक्ने आकलन गर्न भ्याए । ‘के थाहा उहाँहरू छलफल गर्दै हुनुहोला । एक ठाउँमा आउनुहुन्छ कि ?’
अध्यक्ष नेपालले सुदूरपश्चिममा नेकपा(एकीकृत समाजवादी) नेतृत्वको सरकारमा नेकपा एमालेलाई ल्याउने प्रयास भइरहेको र एमालेसँग सहकार्य गर्दा देशभरि नै मिलेर जाने स्थिति बनाउने पक्षमा आफू रहेको प्रस्ट्याए ।
यता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारलाई विश्वासको मत दिने बताए । उनले जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र नेकपा(एकीकृत समाजवादी) एक ठाउँमा रहेको भन्दै यी चार दलसँग बहुमत भएकाले मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत सजिलै पारित हुने दाबी गरे ।
उनले भने, ‘माधवजीसँग सल्लाह भइसकेको छ । उहाँ हामीसँगै रहनुहुनेछ ।’