नेता निधिले सिरोहियालाई भेटेर भने, ‘तपाईँको लडाइमा काँग्रेसको साथ छ’

२०८१ जेष्ठ १०, बिहीबार १७:३०
हिरासतमा रहेका सञ्चारउद्यमी कैलाश सिरोहियासँग भेटेपछि बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकारहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता
जनकपुरधाम, १० जेठ ।
नेपाली काँग्रेसका पूर्व उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर हिरासतमा रहेका सञ्चारउद्यमी कैलाश सिरोहियासँग भेट गरेका छन् । सङ्घीय राजधानीबाट आजै गृहजिल्ला धनुषा आइपुगेका नेता निधिले सिरोहियालाई भेटेर उनको लडाइमा नेपाली काँग्रेस साथमा रहेको बताएका छन् ।

सञ्चार उद्यमी सिरोहियालाई नागरिकता दुरुपयोगको उजुरीमा काठमाडौं प्रहरीले पक्राउ गरी गत मंगलबार धनुषा ल्याएको थियो । जिल्ला अदालत धनुषाले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ ।

नेता निधिले सञ्चार फाँटमा मात्र नभएर लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका सञ्चारउद्यमी सिरोहियामाथि लगाइएको आरोप निराधार र त्रुटिपूर्ण भएको भन्दै सरकारले उनलाई प्रतिशोधपूर्ण गिरफ्तारी गरेको औंल्याए । उनले सिरोहियाको रिहाइको मागसमेत गरे । उनले भने, ‘सरकारले प्रतिशोधपूर्ण तरिकाले उहाँलाई गिरफ्तार गरेको छ । उहाँलाई अनावश्यक दुःख दिएको छ । हामी उहाँको गिरफ्तारीको विरुद्धमा छौँ । सरकारले उहाँलाई रिहा गर्नुपर्छ ।’

नेता निधिले सिरोहिया ‘बोनाफाइड सिटिजन’ भएको भन्दै जनकपुरधाममा उनको र आफ्नो घर आमुनेसामुने रहेको बताए । उनले भने, ‘तेरे घरके सामने भन्छ नि त्यस्तै छ ।’

उनले दुईटा नागरिकता मुद्दामा अहिलेका गृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार नगरिएको उल्लेख गर्दै नागरिकताका बारेमा पञ्चायती व्यवस्थादेखि अहिलेसम्म निर्माण भएका कानुन र तिनमा संशोधनका आधारमा व्यवस्थापकीय कार्य हुन नसक्दा समस्या आइरहेको बताए । उनले भने, ‘नागरिकताका बारेमा पटकपटक संविधान र कानुन निर्माण भएका छन्, संशोधन भएका छन् । त्यसकारण कानुनी र व्यवस्थापकीय त्रुटि हुँदा रकर्डहरू फरकफरक देखिएका छन् । सिरोहियाजीको नागरिकता कीर्ते हुँदै होइन ।’

उनले कानुनी र व्यवस्थापकीय त्रुटिका सबाल नेपालको सन्दर्भमा नागरिकतबाारे आवाज उठाउने सबैका सरोकारको विषय भएको बताए ।

नेता निधिले गृहमन्त्री लामिछानेको सहकारीसम्बन्धी प्रकरणमा छानबिन समिति बनाउने काँग्रेसको मागमा सरकार आफैँले न्यायाधीश भएर निर्दोष भनिरहेकाले र त्यसबारे कान्तिपुरले समाचार प्रकाशन गर्दै आइरहँदा बदलाको भावनाले गिरफ्तार गरिएको विरुद्धमा शुक्रबार काठमाडौँमा प्रदर्शन गरिने जानकारी दिए ।

उनले सरकार तानाशाही, अधिनायकवाद र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेको भन्दै त्यसविरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने बताए । उनले भने, ‘हामी चाहन्छौँ, यस्तो गर्नु नपरोस्, बेलैमा सरकारलाई बुद्धि आओस् । आएन भने राणा र राजाविरुद्ध संघर्ष गरेको नेपाली काँग्रेस र नेपाली जनता जस्तोसुकै वर्चस्ववादी, तानाशाही र अधिनायकवादी शक्तिसँग लड्न तयार छ ।’

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH