पर्सामा आइतबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

२०८१ जेष्ठ १२, शनिबार १७:१०

वीरगञ्ज (पर्सा), १२ जेठ (रासस) । जिल्लामा आइतबारदेखि पहिलो चरणअन्तर्गत पोलियोविरुद्धको (आइपिभी) खोप अभियान सञ्चालन हुँदैछ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालयले तीन चरणमा गरी जिल्लाका ३१ हजार आठ सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी भएको जनाएको छ ।

आइपिभी खोपको विश्वव्यापी अभाव हुँदा विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिका सो खोपबाट वञ्चित हुनुपरेको थियो । सो अवधिमा जन्मिएर खोप लगाउन छुटेका बालबालिकामा पोलियो लाग्ने जोखिम रहने भएकाले उनीहरूलाई लक्षित गरी अभियान देशव्यापी रूपमा अघि बढाउन लागिएको हो ।

जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा. मुक्तिनारायण श्रेष्ठले २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएर आइभिपी खोप लगाउन वञ्चित रहेका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । “तत्कालीन समयमा विश्वव्यापी रूपमा आइभिपी खोपको अभाव भएकाले धेरै मुलुकका बालबालिका खोपबाट वञ्चित हुनुप¥यो,” उनले भने, “सो अवधिमा जन्मिएका, खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन अभिभावकलाई अनुरोध गर्दछौँ ।”

कार्यालयका जनस्वास्थ्य अधिकृत मोदप्रसाद ठाकुरले आइपिभी विशेष गरेर बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र शून्य दशमलव पाँच मिलिलिटरको मात्रा दिनुपर्ने जानकारी दिए । “आइपिभी खोप ढुवानी तथा भण्डारण दुई डिग्री सेल्सियसदेखि आठ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ,” उनले भने, “पोलियोविरुद्धको खोप दुई प्रकारका छन् । मुखबाट खुवाइने (ओपिभी) र सुईबाट दिइने आइपिभी हुन् ।”

जनस्वास्थ्य अधिकृत ठाकुरले पर्सामा खोप अभियान तीन चरणमा सञ्चालन गरिने बताए । “खोप लगाउन छुटेका उमेर समूहका बालबालिकालाई तीन चरणको अभियानमा सहभागी गराउने गरी तयारी गरेका छौँ”, उनले भने ।

खोप समन्वय समिति सचिवालयका अनुसार पहिलो चरणमा जेठ १३ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका–१ देखि वडा नं १६ सम्म, बहुदरमाई नगरपालिकाका साथै विन्ध्वासिनी, पकहामैनपुर, छिपहरमाई, कालिकामाई, धोविनी र ठोरी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।

दोस्रो चरणमा पोखरिया र पर्सागढी नगरपालिका तथा जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा अभियान सञ्चालन हुनेछ । तेस्रो चरणमा जेठ २३ गतेदेखि २६ गतेसम्म वीरगञ्ज–१७ देखि ३२ नं वडा क्षेत्रमा खोप लगाइने जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए । उनका अनुसार तीनै चरणमा भवानी अस्पताल लिङ्करोड र वीरगञ्ज हेल्थ केयर अस्पताल बहुअरीमा खोप लगाइनेछ ।

खोप अभियानमा सात सय आठ जना खोप कार्यकर्ता, स्वयंसेवक एक हजार चार सय १६ जना खटिनेछन् । त्यसैगरी एइएफआई एक सय १२ जना स्वास्थ्यकर्मीका साथै नारायणी अस्पतालका तीनजना चिकित्सक पनि तयारी अवस्थामा रहने ठाकुरले बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष निरञ्जनप्रसाद सोनारले खोप अभियानमा कुनै पनि प्रकारको त्रुटि र कमजोरी नगर्न स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्वयंसेवकलाई अनुरोध गरे । “सचिवालयले अभियानको सुक्ष्म रूपमा अनुगमन गर्नेछ । अनुगमनका क्रममा कुनै त्रुटि वा कमजोरी भेटिएमा तत्कालै कारबाहीको सिफारिस सङ्घीय तथा प्रदेश मन्त्रालयमा पठाइनेछ,” उनले भने ।

अभियानलाई स्वच्छ, सुरक्षित र भरपर्दाे ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष सोनारले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगी खोप लगाउने कार्यमा सहयोग गर्न अभिभावकलाई अनुरोध गरे । मधेस प्रदेशमा दुई लाख ९२ हजार नौ सय ५९ जनालाई सो खोप लगाउने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH