जनमतको मुख्यमन्त्री बनाउन ६३ सांसदको हस्ताक्षर आज प्रदेश प्रमुखकहाँ बुझाइने दाबी

२०८१ जेष्ठ २०, आईतवार ०९:४१

टोलपडोस समाचारदाता
जनकपुरधाम, २० जेठ ।
६३ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहित मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार गठनका लागि सरकार इतर दलहरूले आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाउँदैछन् । केही दिनयता दलीय सहमति जुटाउन संघीय राजधानीमा रहेका प्रतिपक्षी दलका नेताहरू आज (आइतबार) बहुमत सदस्यको समर्थन आफूहरूसँग रहेको दाबी पेस गर्न प्रादेशिक राजधानी जनकपुर आउन थालेका छन् ।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल, नेकपा(एकीकृत समाजवादी), संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित जनमत पार्टी नेतृत्वमा सरकार गठनका लागि प्रदेश प्रमुखकहाँ आज मध्याह्नसम्म पत्र बुझाउने जानकारी दिए ।

उनले अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवमाथि राजीनामा दिन नैतिक दबाब बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखकहाँ बुझाउने प्रस्ट्याए । नयाँ सरकार गठनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

मधेश प्रदेशसभाको तेस्रो अधिवेशन जेठ २१ बाट सुरु हुँदैछ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि संवैधानिक प्रावधान अनुसार जेठ २९ गतेभित्र मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्री यादवले त्यसअगावै जेठ २३ गते नै विश्वासको मत लिने बताएका छन् ।

मधेश प्रदेशमा सरकारका विषयमा लोसपा नेपाल र नेकपा(एकीकृत समाजवादी) ले आधिकारिक निर्णय गरिसकेका छैनन् । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई बुझाइने भनिएको पत्रमा हस्ताक्षर गर्ने विषयमा भने लोसपा र नेकपा(एस) का नेताहरूले आफूहरू जानकार नरहेको बताए ।

मधेश प्रदेशमा जनमत सरकार गठनका लागि नेकपा(एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजै बस्दैछ भने सोही विषयमा छिनोफानो गर्न लोसपा नेपालको संघीय राजधानीमा उपलब्ध पदाधिकारीहरूको बैठक अहिले केही बेरमा बस्दैछ ।

मधेश प्रदेशसभामा लोसपा नेपालको संसदीय दलका उपनेता उपेन्द्र महतोले जसपा नेपाल नेतृत्वको सरकारको विदाइ हुनुपर्ने आफ्नो व्यक्तिगत मान्यता रहे पनि पार्टीको निर्देशनअनुसार आफूहरू अघि बढ्ने बताए । ‘अहिलेसम्म पार्टीको केन्द्रीय तहबाट निर्देशन आइसकेको छैन,’ उनले भने ।

यता नेकपा(एस) संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले बहुमत सदस्यका हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र दिइने र त्यसमा नेकपा(एस) का प्रदेशसभा सदस्य समेतको हस्ताक्षर रहने विषयमा आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘यस विषयमा कतै कोहीसँग केही कुरा भएको छैन ।’

लोसपा नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले अहिलेको अवस्थामा बहुमत दाबी गर्न वा सरकार गठनका लागि प्रदेश प्रमुखकहाँ दिइने भनिएको पत्रमा लोसपा नेपालका प्रदेशसभा सदस्यले हस्ताक्षर नगर्ने बताए । उनले लोसपा कुनै पनि हालतमा गैरसंवैधानिक र गैरकानुनी कदमको पक्षमा नरहेको प्रस्ट्याए ।

‘मुख्यमन्त्रीले विश्वासको मत लिन नसकेमा जसले पनि सरकार गठनको पहल गर्दा हुन्छ । तर, त्यसअघि बहुमत साबित गर्ने हस्ताक्षर गर्ने पक्षमा हामी छैनौँ,’ प्रदेशसभा सदस्य समेत रहेका नेता सोनलले भने ।

उनले लोसपा नेपालको कुनै नयाँ गठबन्धनमा केन्द्रदेखि प्रदेश तहसम्म कतै नरहेको पनि स्पस्ट पारे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH