मधेश प्रदेश : नेकपा(एस) ले छाड्दै सरकार, जसपा नेपाल नेतृत्वको सरकारको बिदाइ पक्का
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ जेठ ।
नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारबाट बाहिरिँदैछ । सरकारबाट बाहिरिँदै सो पार्टीले मौजुदा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने पार्टीकी नेता एवम् श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले बताए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री सरोजकुमार यादवले भोलि जेठ २३ गते विश्वासको मत लिने प्रदेशसभामा कार्यसूची छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिने अघिल्लो दिन नेकपा(एकीकृत समाजवादी) सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको हो ।
‘हामी राजीनामापत्रका साथ पर्खाइमा छौँ । मुख्यमन्त्रीजी बाहिर हुनुहुन्छ । उहाँ आउनेबित्तिकै सरकारबाट अलग्गिनेछौँ,’ मन्त्री लुंगेलीले भनिन् । उनले आजै यादव सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिइने जानकारी दिइन् ।
यससँगै मुख्यमन्त्री यादवको सरकारले निरन्तरता पाउने जसपा नेपालको झिनो आशा विफल भएको छ । विश्वासको मत लिन प्रदेशसभाका १०७ सदस्यमध्ये ५४ सदस्य आवश्यक रहेको र जसपा नेपालले अपेक्षा गरेअनुसार सात सदस्य रहेको नेकपा(एकीकृत समाजवादी) नसघाउने भएपछि यादव सरकार ढल्ने प्रायःनिश्चित नै छ ।
जसपा नेपालले नेपाली काँग्रेस, लोसपा नेपाल, नेकपा(एकीकृत समाजवादी) र तीन अन्य एक–एक सदस्य भएका दलले विश्वासको मतका पक्षमा आएर सरकारलाई निरन्तरता दिने दाबी गर्दैआएको थियो ।
यता नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्रलगायतका सात दलले ६३ सदस्यसहित जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको छ । नेकपा(एकीकृत समाजवादी) नयाँ सरकार गठनमा सहभागी हुने पनि पक्कापक्की छ ।
यता नेकपा(एकीकृत समाजवादी) सरकारबाट अलग्गिएर समर्थन फिर्ता लिने भएपछि सरकारले विश्वासको मत नपाउने निश्चित भए पनि मुख्यमन्त्री यादवले विश्वासको मत प्रस्ताव गर्ने जसपा नेपालका नेता एवम् अर्थमन्त्री सञ्जयकुमार यादवले बताए ।