जब मुख्यमन्त्री नभेटी मेचमै राजीनामा छाडेर मन्त्रीहरू हिँडे
![](https://tolpados.com/wp-content/uploads/2024/06/Samajwadi.jpeg)
टोलपडोस समाचारदाता
जनकपुरधाम, २२ जेठ ।
औपचारिकता, मान्यता र नैतिकताका कारण मधेश प्रदेश सरकारलाई विश्वासको मत दिने केही दिन अघि बताएका माधवकुमार नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) का मन्त्रीहरूले आफ्ना पदबाट राजीनामा दिन मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार साँझ पर्खन सकेनन् ।
मुख्यमन्त्री यादव बाहिर रहेका बेला मधेश भवनस्थित मुख्यमन्त्री निवास पुगेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले त्यहाँस्थित मुख्यमन्त्रीको सचिवालयमा राजीनामापत्र बुझाएर हिँडेका थिए ।
‘मुख्यमन्त्रीजीलाई पख्र्यौं । धेरै बेरसम्म उहाँ आउनु भएन । अनि हामी त्यहाँ राजीनामापत्र छाडेर हिँड्यौँ,’ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीबाट राजीनामा दिएका नेकपा(एकीकृत समाजवादी) संसदीय दलका नेता समेत रहेका न्यौपानेले भने । उनले राजीनामा सचिवालयमा बुझाउनेबारे मुख्यमन्त्रीसँग सल्लाह नभएको भने प्रस्ट्याए ।
राजीनामा दिँदा मुख्यमन्त्रीलाई भेटेरै दिनुपर्ने कानुनी बाध्यता छैन । तर, मधेश प्रदेशमा सरकारबाट बाहिरिँदा मुख्यमन्त्रीलाई भेटेरै राजीनामा बुझाउने अभ्यास हुँदैआएको छ ।
जनमत पार्टीको नेतृत्वमा बन्ने भनिएको नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दल सम्मिलित नयाँ सरकारमा सहभागी हुन नेकपा(एकीकृत समाजवादी) का ती दुई मन्त्रीले मौजुदा सरकारबाट राजीनामा दिएका हुन् । सो पार्टीले सरकारलाई दिएको समर्थन समेत आजै फिर्ता लिइसकेको छ ।