मधेश प्रदेश : मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत प्रस्ताव गर्ने
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मधेश प्रदेशसभाको अङ्कगणित र दलीय धु्रवीकरणको चित्र अनुकूल नभए पनि मुख्यमन्त्री सरोजकुमार यादवले आज बुधबार विश्वासको मत प्रस्ताव गर्ने भएका छन् । मुख्यमन्त्री यादवले आज प्रदेशसभा बैठकमा संविधानको धारा १८८ को २ अनुसार तीस दिनभित्र लिनुपर्ने विश्वासको मत प्रस्ताव गर्ने भएका हुन् ।
मुख्यमन्त्री यादवले अहिलेको अवस्थामा आफूसँग ५० प्रदेशसभा सदस्यको समर्थन रहेकाले त्यो सँख्या प्रस्ट्याएर भविष्यमा प्रतिपक्ष कमजोर नरहेको सन्देश दिन पनि आफूले विश्वासको मत लिने बताए ।
मुख्यमन्त्री यादवसँग जेठ २९ गतेसम्म विश्वासको मत लिने समय सीमा भए पनि उनले नीति तथा कार्यक्रम एवम् बजेट ल्याउनुपर्ने भन्दै त्यसअघि नै विश्वासको मत लिने भएको जनाएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि उनले पाँचौँपटक विश्वासको मत लिनुपर्ने स्थिति आइपरेको थियो ।
प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची आज रहेको अघिल्लो दिन अर्थात् हिजो मंगलबार सरकारमा सहभागी नेकपा(एकीकृत समाजवादी) सरकारबाट बाहिरिएको छ । उसले यादव सरकारलाई दिएको समर्थन समेत हिजै फिर्ता लिएको छ ।
नेकपा(एकीकृत समाजवादी) ले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मुख्यमन्त्रीले विश्वासको मत लिने सम्भावना पटाक्षेप भएको छ । नेपाली काँग्रेसका २२ र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका ८ र सङ्घीय सत्ता गठबन्धनबाट बाहिर रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सदस्यका मत अपेक्षा गरेको सत्ताको नेतृत्वकर्ता जसपा नेपालका १९ सहित ५० मतबाट मात्र मुख्यमन्त्री यादवले विश्वासको मत लिने अवस्था छैन । विश्वासको मत लिन १०७ सदस्यीय प्रदेशसभामा ५४ मत आवश्यक पर्छ ।
नेकपा(एकीकृत समाजवादी) का ७ सदस्यले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री यादवले काँग्रेस र लोसपाका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टीको एक मत प्राप्त गर्न सक्नेछ । यो मतसँगै मुख्यमन्त्री यादवका पक्षमा ५० मत पर्नेछन् । सरकारले निरन्तरता पाउन यो सँख्यामा ४ मत कम छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्ने विषयमा अझै निर्णय गरिसकेको छैन । नयाँ सत्ता गठबन्धनमा सामेल हुने विषयमा समेत लोसपा नेपालको आधिकारिक धारणा आएको छैन । राप्रपा नेपाल सङ्घीय सत्ता गठबन्धनमा नरहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सम्भावना छ ।
प्रदेशमा काँग्रेससहितको अघिल्लो सत्ता गठबन्धन कायम हुँदा सरकारमा सहभागी लोसपा नेपालका मन्त्रीलाई मुख्यमन्त्री यादवले बर्खास्त गर्ने तयारी गरेपछि तत्कालीन वन तथा वातावरण मन्त्री रमेश पटेल कुर्मीले राजीनामा गरेका थिए । मुख्यमन्त्री यादवले लोसपा नेपाललाई त्यसअवधिमा दुई मन्त्रालय दिने भने पनि एउटैमा सीमित गरेको र मन्त्रीलाई कमजोर बनाउने काम गरेको गुनासो लोसपा नेपालले लगाउँदै आएको छ ।
यता जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरिरहेको सङ्घीय सत्ता गठबन्धनका मुख्य दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पक्षमा नेकपा एमालेका २४, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९ र नेकपा(एकीकृत समाजवादी) का ७ गरी ५३ मत छ । सभामुख रामचन्द्र मण्डल नेकपा एमालेकाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । तर, सरकार गठन वा विश्वासको मत प्रयोजनले उनको मत गणणा गरिँदैन ।
मधेशमा नयाँ सरकार गठनका लागि सङ्घीय सत्ता गठबन्धन दललाई रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी पार्टी वा नागरिक उन्मुक्ति पार्टीको समर्थन चाहिन्छ । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने गठबन्धनसँग ती दुई दलको समर्थन रहेको दाबी गरिएको छ ।