मधेश प्रदेश : मुख्यमन्त्रीलाई लोसपा नेपालले विश्वासको मत नदिने, विपक्षमा पनि नजाने !
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल मुख्यमन्त्री सरोजकुमार यादवले आज मधेश प्रदेशसभामा प्रस्ताव गर्ने विश्वासको मतमा तटस्थ बस्ने भएको छ ।
पार्टीका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत दिन आग्रह गरेका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रस्ट उत्तर दिएनन् । ठाकुरले जसपा नेपाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने राजनीतिक र व्यवारिक दुवै बाध्यता नरहेको मुख्यमन्त्रीलाई सुनाए ।
ठाकुरजीले जसपा नेपाल हठात् काँग्रेससहितको सङ्घीय सत्ता गठबन्धन छाडेको, मधेश प्रदेशमा कनीकुथी एउटा र त्यसमा पनि कमजोर मन्त्रालय दिएको, सत्ता गठबन्धनमा हेरफेर हुनेबित्तिकै पार्टीका मन्त्री बर्खास्त गर्न खोज्दा राजीनामा दिन बाध्य तुल्याएको आदि विषयको जिम्मेवार को हुने भन्ने मुख्यमन्त्री यादवसँग प्रश्न गरेका छन् ।
मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन १०७ सदस्यीय प्रदेशसभामा ५४ मत चाहिन्छ । काँग्रेस र राप्रपासहित लोसपा नेपालका आठ सदस्यको समर्थन भएमा उनले ५० मत प्राप्त गर्नेछन् । तर, जनमत पार्टीको नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको सङ्घीय सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ५३ जोडेका मत छन् ।
सरकार गठन र त्यसपछि विश्वास मतका लागि थप एक मत आवश्यक छ । प्रदेशसभामा एक–एक मत रहेका नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी पार्टी नयाँ सरकार गठन प्रयास गर्ने सङ्घीय सत्ता गठबन्धनसँग जाने अनुमान गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी पार्टीको समर्थनपछि नयाँ सरकार गठन प्रयास गर्ने सङ्घीय सत्ता गठबन्धनसँग आवश्यकभन्दा एक मतमात्र बढी हुन्छ । यस्तोमा लोसपा नेपालको आठ मत मजबुत सरकारका लागि निर्णायक हुनेछ ।