अर्थमन्त्री यादवले एयरपोर्ट पुगेरै फर्काएका सचिव शिवाकोटी टाप कसे
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
स्थानीय तहलाई पठाउनुपर्ने समपूरक र विशेष अनुदानसम्बन्धी निर्णय थाँती राखेर काठमाडौं उड्न लागेका मधेश प्रदेशको अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र शिवाकोटीलाई अर्थमन्त्री सञ्जयकुमार यादवले जनकपुर विमानस्थलबाट फर्काएका छन् ।
मंगलबार बुद्ध एयरको उडानबाट गुपचुप तरिकाले काठमाडौँ जान लागेका सचिव शिवकोटीलाई मन्त्री यादवले विमानस्थल पुगेरै आफ्नो गाडीमा मन्त्रालय लिएर आएका थिए । अनुदानलगायत मन्त्रालयका अन्य कामकाजका बारेमा निर्णय नगरी सम्पर्कविहीन बनेका सचिव शिवाकोटी काठमाडौं जान लागेको खबर प्राप्त गरेका मन्त्री यादवले विमानस्थलबाटै उनलाई लिएर मन्त्रालय आएका थिए ।
‘संयोग राम्रो थियो । दिउँसो ११.१५ बजेको बुद्ध एयर मौसम खराबीका कारण विमान निर्धारित समयमा उडान भर्न सकेको थिएन । सचिव शिवाकोटी विमान पर्खेर डिपार्चर कक्षमा पर्खिरहेका थिए । त्यहाँबाट मन्त्रीले उनलाई आफूसँग लिएर आए,’ मन्त्रालयका एक कर्मचारीले भने ।
अपराह्न १ बजे मन्त्रालय ल्याइएका सचिव शिवाकोटीले केही बेर आफ्नो कार्यकक्षमा त्यहाँ पुगेका प्रतिपक्षी दलका नेताहरूसँग भेटघाट गरेका थिए । त्यसपछि मन्त्रीको कार्यकक्षमा मन्त्री यादवसँग गोप्यवार्ता गरी चिया खाने भन्दै मधेश भवनभित्रमै रहेको आवासमा पुगेका थिए ।
‘त्यसयता उहाँ भौतिक सम्पर्कमा हुनुहुन्न । कतै लुक्नुभएको छ कि जनकपुर छाडी सक्नुभएको छ,’ मन्त्रालयका ती कर्मचारीले भने ।
बुधबार टेलिफोन सम्पर्कमा आएका सचिव शिवाकोटीले मन्त्री यादवले आफूलाई जनकपुर विमानस्थलबाट मंगलबार फर्काएको बताए । ‘मन्त्रालयका काम गरिदिनुपर्ने भो भनेर मन्त्रीजीले फर्काउनुभयो । नियमसम्मत काम गर्छु भन्दै म पनि उहाँसँगै फर्किएँ,’ उनले भने ।
उनले बुधबार आफू कार्यालय नपुगेकाले प्रशासनिक कामकाजको जिम्मेवारी दिनेगरी उपसचिव अजयकुमार कर्णलाई निमित्त दिएको बताए ।
मधेश प्रदेशमा सरकार परिवर्तन हुने छाँट देखिएयता अधिकांश सचिवहरू मन्त्रालय आउन छाडेका छन् । सचिव शिवाकोटीलाई अनुदान, रकमान्तर, बजेट तयारी लगायतका विषयमा कुनै काम नगरी बिदा लिएर काठमाडौं फर्कन संघ सरकारबाट तारन्तार दबाब आइरहेको थियो ।
यद्यपि उनले अर्थमन्त्री यादवको निर्देशनमा अनुदान वितरण कार्यलाई कार्यविधिअनुसार अन्तिम रूप दिएका थिए । तर, अन्तिम समयमा आएर उनले त्यससम्बन्धी फाइलमा हस्ताक्षर गर्न अस्वीकार गरेको यादवनिकट स्रोतको भनाइ छ ।
‘मन्त्री रहँदासम्म सचिवले मन्त्रीको निर्देशन मान्नुपर्छ । सचिव अटेरी बने । त्यसैले विमानस्थलबाट फर्काइयो । तर, उनले मन्त्रीलाई झुक्याएर टाप कसे,’ स्रोतले भन्यो ।