विश्वासको मत लिन मुख्यमन्त्री यादव प्रदेशसभामा
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीका साथ बसेको मधेश प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव सहभागी हुने भएका छन् ।
प्रदेशसभाको आजको बैठक केही बेरमा सुचारु हुँदैछ । बैठकमा सहभागी हुन मुख्यमन्त्री यादव प्रदेशसभा पुगिसकेका छन् ।
बैठकमा कुनै पनि मन्त्री उपस्थित नहुँदा सभामुख रामचन्द्र मण्डलले कार्यसञ्चालन नियमावलीका आधारमा दस मिनेटका लागि बैठक स्थगन गरी अन्य दलसँगै मुख्यमन्त्रीको दल जसपा नेपालका प्रदेशसभा सदस्यहरूसँग परामर्श थालेका थिए । सभामुख मण्डलले कार्यसूचीअनुसार नै सदन चलाउने मनस्थितिमा रहेकाले मुख्यमन्त्री यादवले आजै विश्वासको मत प्रस्ताव गर्न प्रदेशसभा पुगेका हुन् ।
जसपा नेपालका प्रवक्ता एवम् प्रदेशसभा सदस्य मनिष सुमनले मुख्यमन्त्री यादव अस्वस्थ भए पनि पार्टी अध्यक्ष उपेन्द्र यादवको निर्देशनअनुसार आजै विश्वासको मत लिन लागेको जानकारी दिए ।
मुख्यमन्त्री यादवले समेत आफूले आजै विश्वासको मत लिन लागेको टोलपडोसलाई बताए ।
जेठ २३ गते विश्वासको मत लिने मुख्यमन्त्री यादवको तयारीअनुसार प्रदेशसभामा आजका लागि त्यससम्बन्धी कार्यसूची तय भएको थियो । तर, आज बिहान मुख्यमन्त्री यादवले प्रदेशसभालाई पत्र पठाई जेठ २८ गते विश्वासको मत लिने जानकारी गराएका थिए ।
मुख्यमन्त्रीलाई विश्वासको मतमा नेपाली काँग्रेस र तटस्थ बस्ने भनिएको लोसपा नेपाल र राप्रपाले सघाउने भएको छ भने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा (एस) ले विपक्षमा मतदान गर्ने सहमति गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी र सङ्घीय समाजवादी पार्टीले आफ्नो कित्ता सार्वजनिक रूपमा अझै स्पस्ट गरिसकेका छैनन् ।