मधेश प्रदेशसभा बैठक आरम्भ, मुख्यमन्त्री यादवले गरे विश्वासको मत प्रस्ताव
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्रस्ताव गर्न प्रदेशसभा पुगेपछि प्रदेशसभाको बैठक सुचारु भएको छ ।
मुख्यमन्त्री यादवले सदनमा विश्वासको मत लिनका लागि प्रस्ताव गरेका छन् ।
मुख्यमन्त्री यादवले अस्वथताका कारण जनाई आजको कार्यसूचीमा रहेको विश्वासको मत प्रस्ताव तथा त्यसमा छलफल एवम् निर्णयार्थ पेस गर्न जेठ २८ को समय माग गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशसभाको बैठक पूर्वनिर्धारित कायसूचीका आधारमा सुरु गरेपछि मुख्यमन्त्री आजै विश्वासको मत लिन सहमत भएका थिए ।
आज अपराह्न सुरु भएको प्रदेशसभा बैठक भने कुनै पनि मन्त्री उपस्थित नहुँदा १० मिनेटका लागि भन्दै स्थगन भएको थियो ।
प्रदेशसभाको कार्यसञ्चालन नियमावलीको २०७५ को नियम ६ को उपनियम ६ मा प्रदेशसभाको बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुने व्यवस्था रहने व्यवस्था छ ।