पूर्वमुख्यमन्त्री राउतले प्रकट गरे नयाँ सरकार बनाउनेलाई शुभेच्छा
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवम् जसपा नेपालका नेता लालबाबु राउतले बहुमत भएका राजनीतिक दललाई सरकार बनाउने अवसर दिएको बताएका छन् ।
मुख्यमन्त्री सरोजकुमार यादवले प्रस्तुत गरेको विश्वासको मत प्रस्तावमा बोल्दै उनले दल विभाजनसम्बन्धी ऐन प्रदेशमा लागू नभएको अवस्थामा पनि पहिलै नै समय लिइसकिएकाले आज मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गरे ।
उनले नयाँ बन्ने सरकारले नीति तथा कार्यक्रम एवम् बजेटमा ल्याउँदा सबैका भावना समेट्नुपर्ने थपे । उनले बजेटमा सबैको स्वामित्व रहनेगरी बजेट ल्याउन प्रतिपक्षीहरूलाई शुभेच्छा दिए ।
पूर्वमुख्यमन्त्री राउतले नयाँ बन्ने सरकारले संघीयता, लोकतन्त्र र सुशासनका लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘म भन्ने गर्थें र भन्ने गर्छु सरकारमा बस्नेहरूले आज म सरकारमा छु र भोलि गएर प्रतिपक्षमा बस्नेछु भन्ने कुरा बिर्सन हुँदैन ।’
उनले बहुमतले अल्पमतलाई सम्मान गर्नुपर्ने भन्दै नयाँ सरकार छ महिना चल्नसक्ने फेरि प्रतिपक्षमा जानुपर्ने भएकाले असल आचरण गर्न सुझाए । उनले भने, ‘आज नमिल्नेहरू एक ठाउँमा आएका छन् । आज सत्तापक्षका भोलि विपक्षमा बस्नेछन् यसलाई नबिर्सौ ।’
उनले मुख्यमन्त्री यादवले सदनभित्रका सबै राजनीतिक दलका नेतासँग काम गरेका र भोलिका दिनमा अनुभव साझा गर्न उनलाई सजिलो हुने धारणा व्यक्त गरे ।
आफूले पाँच वर्षमा दुईपटक मात्र विश्वासको मत लिनुपरेको स्मरण गर्दै पूर्वमुख्यमन्त्री राउतले सत्रह महिनामा पाँचौँ पटक विश्वासको मत लिन सदमा उपस्थित हुनु उपयुक्त नरहेको प्रस्ट्याए । ‘अब विश्वासको मतका लागि होइन, सदनमा ऐनकानुन बनाउन उपस्थित हुनुपर्छ ।’
उनले संघीयता संस्थागत गर्न सबै दल एकजुट भएर संघ सरकारमाथि दबाब बनाउनुपर्ने पनि बताए ।