मधेश प्रदेश : शुक्रबार १० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेसको आह्वान
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न जेठ २५ गते शुक्रबार १० बजेसम्मको समय तोकेकी छिन् ।
उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न बुधबार साँझ आह्वान गरेकी हुन् ।
मधेश प्रदेशसभा सचिवालयले मुख्यमन्त्री सरोजकुमार यादवले संविधानको धारा १८८ को २ बमोजिम प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्तुत गरेको विश्वासको मत प्रस्ताव बहुमतले पारित नभएको जानकारी बुधबार नै प्रदेश प्रमुखलाई दिएको थियो ।
सोही आधारमा प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा नियुक्ति गर्ने प्रयोजनले दाबी पेस गर्न आह्वान भएको छ ।