महन्थ ठाकुरले भने, ‘तर्क नहीं किजिए, पक्षमे भोट दिजिए’ अनि महतोले २४ सेकेन्डमा कुरा सकाए

२०८१ जेष्ठ २३, बुधबार २३:१८
उपेन्द्र महतो, मधेश प्रदेशसभामा संसदीय दलका उपनेता, लोसपा नेपाल

टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
मधेश प्रदेशसभामा लामा र तर्कपूर्ण अभिव्यक्ति दिनेहरूमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको संसदीय दलका नेता उपेन्द्र महतो पनि दरिन्छन् । तर, बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले गरेका विश्वासको मत प्रस्तावमा छलफलक्रममा उनले अहिलेसम्मका छोटा भाषण गरे । उनले रोस्ट्रममा करिब २४ सेकेन्ड बोले ।

दोस्रोपटक प्रदेशसभा निर्वाचित भएका महतोले भने, ‘माननीय सभामुख महोदय, माननीय मुख्यमन्त्रीज्यूले नेपालको संविधानको धारा १८८ को उपधारा २ र प्रदेशसभा कार्यसञ्चालन नियमावलीको नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभाको विश्वासको मत लिन प्रस्ताव गर्नुभएकोमा आज लोकतान्त्रिक समाजवादी पार्टीले पक्षमा मतदान गर्ने निर्णय गरेको छ । धन्यवाद ।’

निकै निरुत्साहित मुद्रा र उदासीन स्वरमा कागजमा लेखिएका धारा तथा नियमसँग पार्टीको पक्ष राखेका महतो रोस्ट्रमसम्म कसरी आए र फर्के भन्ने चाल पाउन कठिन भएको थियो ।

जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारले केही समयअघि पार्टीका मन्त्रीलाई अपमानपूर्ण ढङ्गले सरकारबाट बाहिरिन बाध्य तुल्याएको र पार्टीसँग उचित व्यवहार नगरेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने पक्षमा नरहेका महतोले विश्वासको मतको पक्षमा रहने वाक्य आज बलजफ्ती बोलेको बताइन्छ ।

पार्टीका अन्य प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कुरा बोल्न अस्वीकार गरेपछि संसदीय दलका उपनेता रहेका महतोलाई सरकारलाई विश्वासको मत दिने कुरा बोल्न रोस्ट्रममा पुग्नुपरेको सोही पार्टीका एक प्रदेशसभा सदस्यले बताए । पार्टी संसदीय दलका नेता अभिराम शर्मा प्रदेशसभा सदस्य पदबाट निलम्बनमा रहेकाले उनले यो दायित्व निर्वाह गर्नुपरेको हो ।

महतोसँगै पार्टी संसदीय दलका प्रमुख सचेतक रानी शर्मा, प्रदेशसभा सदस्यहरू रूपा यादव, रामबाबु यादव र रमेश पटेल कुर्मी पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने पक्षमा उभिएका थिए । पार्टीका प्रदेशसभा सदस्यहरू जितेन्द्र सोनल, रमिता प्रधान र जयनुल राइनले भने पार्टी ‘हाइकमान’ को निर्णयका आधारमा अघि बढ्ने बताउँदै आएका थिए ।

प्रदेशसभा बैठकअघि पार्टीका आठैजना प्रदेशसभा सदस्यले अध्यक्ष महन्थ ठाकुरसँग स्पिकर अन गरी फोन सम्पर्क गरे र तीमध्ये धेरैले एक स्वरमा भने, ‘हामीहरू मुख्यमन्त्रीलाई विश्वासको मत दिन हुँदैन भन्ने निष्कर्षमा पुगेका छौँ ।’
अध्यक्ष ठाकुरले भने, ‘तर्क मत किजिए, पक्षमे भोट दिजिए ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि गठबन्धन गर्ने प्रयास गरिरहँदाका आरम्भिक दिनमा लोसपा नेपाल पनि आफूहरूसँग रहेको जिकिर गर्दैआएका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH