मधेश प्रदेश : मुख्यमन्त्रीका लागि ५५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरिने
टोलपडोस समाचारदाता
जनकपुरधाम, २३ जेठ ।
सङ्घीय सत्ता गठबन्धनले मधेश प्रदेशका मुख्यमन्त्रीका लागि ५५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिन गरेका प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २५ गते शुक्रबार बिहान १० बजेसम्म संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुईभन्दा बढी राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री नियुक्ति प्रयोजनले दाबी पेस गर्न बुधबारै आह्वान गरेकी छिन् ।
सङ्घीय सत्ता गठबन्धनको घटक नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले नागरिक उन्मुक्ति पार्टीका एक र संघीय समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य गरी ५५ सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ दाबी पेस गरिने जानकारी दिए ।
मुख्यमन्त्री यादवको विश्वासको मत लिने प्रस्तावका विपक्षमा ५३ जनाले मत दिएका थिए ।