लोसपाका वरिष्ठ नेता सिँहले भने, ‘भतिज सतिशलाई आशीर्वाद छ तर हामी कित्ता परिवर्तन गर्दैनौँ’
टोलपडोस समाचारदाता
जनकपुरधाम, २४ जेठ ।
लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका वरिष्ठ नेता शरत्सिँह भण्डारीले मधेश प्रदेशमा नयाँ सरकारले आफूहरूसँग समर्थन माग्नु स्वाभाविक भएको बताउँदै पार्टीले स्थिति परिवर्तन नगर्ने प्रस्ट पारेका छन् ।
जनमत पार्टीबाट मुख्यमन्त्रीका लागि सारिएका प्रदेशसभा सदस्य सतिशकुमार सिँहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता भण्डारीलाई भेटेर नयाँ बन्ने सरकारका लागि पार्टीको समर्थन खोजेका हल्लाबीच उनले भने, ‘सतिश सिँह भतिज छन् । उनलाई काकाको आशीर्वाद छ । तर, भर्खर एउटा कित्तामा रहने अनि तत्काल अर्को कित्तामा जाने कुरा हुँदैन ।’
नयाँ बन्ने सरकार वा सरकार टिकाउन राजनीतिक दलसँग विश्वासको मत र समर्थन माग्नु सामान्य प्रक्रिया भएको भन्दै वरिष्ठ नेता भण्डारीले लोसपा नेपाल रहेको केन्द्रीय गठबन्धनबाहेकका अन्यलाई समर्थन गर्ने दोहोरो नीति नअपनाउने बताए । उनले भने, ‘हामी जहाँ छौँ, त्यहीँ रहन्छौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङघीय सरकारमा रहने र समर्थन दिने गरेको आग्रह आफूहरूले अस्वीकार गरेको र केन्द्रीय गठबन्धनविपरीत लुम्बिनी र मधेशमा पनि नजाने भनेर निष्ठाको राजनीति प्रकट गर्दै आएको भन्दै उनले केन्द्र, प्रदेश र क्षेत्रमा पार्टीको छुट्टाछुट्टै नीति नहुने उल्लेख गरे ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको निष्ठा र प्रतिबद्धता नै विश्वसनीयता रहेकाले पार्टीले आफ्ना राजनीतिक प्रतिबद्धता र मान्यताविपरीत कतै नजाने उनको भनाइ थियो । ‘आज एउटा सरकार बन्छ, भोलि अर्को सरकार बन्छ । पार्टी जता पायो त्यता कुदिरहदैन,’ वरिष्ठ नेता भण्डारीले भने ।
उनले नयाँ बन्ने प्रदेश सरकारले मधेशको हितमा काम गर्ने शुभेच्छा व्यक्त गर्दै लोसपा मधेशको हितमा सरकार बाहिर र भित्र जता भए पनि सहयोग गर्ने दृढता व्यक्त गरे ।