जनमतका सतिश सिँह  मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त

२०८१ जेष्ठ २५, शुक्रबार १२:२०

टोलपडोस समाचारदाता

जनकपुरधाम, २५ जेठ । 

जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी गरेपछि जनमत नेता सिँहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका रूपमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले शुक्रबार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्ति प्रयोजनका आह्वान गरेकी थिइन् ।

यसअघि सिँह नेतृत्वमा सरकार गठनका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थनसहित शुक्रबार बिहान दाबी पेस गरिएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

भारतीय राज्य झारखण्डस्थित राँचीको बिआइटी मिश्राबाट सूचना प्रविधिमा स्नातकोत्तर सिँह मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी लोसपाका नेता एवम् राष्ट्रियसभा सांसद शेखर सिँहका माइला पुत्र हुन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH