नवनियुक्त मुख्यमन्त्री सिँहको शपथग्रहणमा निवर्तमान मुख्यमन्त्री यादव सहभागी नहुने

२०८१ जेष्ठ २५, शुक्रबार १२:४२

टोलपडोस समाचारदाता
जनकपुरधाम, २५ जेठ ।
नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिँहको शपथग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव सहभागी नहुने भएका छन् ।

व्यक्तिगत कामका सिलसिलामा बाराको कलैयामा रहेका निवर्तमार्न मुख्यमन्त्री यादवले निकै ढिलागरी शपथग्रहणको समयका बारेमा प्रदेश प्रमुख कार्यालयबाट खबर आएकाले शपथग्रहण कार्यक्रममा सहभागी हुन नसक्ने उनले बताए ।

उनले भने, ‘अलिक बेरअघि कार्यक्रममा सहभागी हुन खबर आएको छ । कलैयाबाट अहिले हिँडे पनि निर्धारित समयमा पुग्न सकिँदैन ।’

मुख्यमन्त्री नियुक्ति प्रयोजनले आज शुक्रबार बिहान १० बजेसम्म समयसी र मुख्यमन्त्रीको शपथग्रहण शुक्रबार १० बजे हुने जानकारी जनमत संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरतप्रसाद साहले एकाबिहानै सामाजिक सञ्जालमार्फत दिइसकेका थिए । यद्यपि शपथग्रहणको अर्को समय १२ः३० तय गरिएको छ ।

मुख्यमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन पूर्वमुख्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयले औपचारिक निम्ता दिनेगर्छ ।

०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त जसपा नेपालका संसदीय दलका नेता यादवको कार्यकाल १७ महिना रह्यो । उनले आफ्नो कार्यकालमा मधेश प्रदेशसभाबाट चारपटक विश्वासको मत लिए भने अन्तिम पाँचौँपटक विश्वासको मत लिन असफल भए । प्रदेशसभाका १०७ मध्ये १०३ जनाबीच भएको मतविभाजनमा उनका पक्षमा ५० र विपक्षमा ५३ मत परेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH