मधेश प्रदेश : नवनियुक्त मुख्यमन्त्री सिँहले लिए शपथ

२०८१ जेष्ठ २५, शुक्रबार १३:१६
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिँहलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउँदै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता
जनकपुरधाम, २५ जेठ ।
मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँहले शपथ लिएका छन् । शुक्रबार जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलमा शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिँहलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।

प्रदेश प्रमुख सुवेदीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने छ राजनीतिक दलका ५५ प्रदेशसभा सदस्यका समर्थन प्राप्त जनमत नेता सिँहलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । नवनियुक्त मुख्यमन्त्री सिँहलाई जनमत पार्टीका अतिरिक्त नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीको समर्थन छ ।

प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाको बहुमत सदस्यबाट विश्वासको मत लिन नसकेपछि बुधबार प्रदेश प्रमुख सुवेदीले आज बिहानको १० बजे समय सीमा तोकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त हुने प्रयोजनले दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

जसअनुसार आज बिहान छ दलका ५५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि जनमत नेता सिँहले प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए ।

प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति सत्तामा जान कसरत गरिरहेका दलहरूबीच बिहीबार बसेको बैठकले मन्त्रालयको बाँडफाँटका बारेमा बिहीबार मध्यरातमा मात्र टुंगो लगाएका थिए । त्यसपछि ती दलहरूले सरकारका लागि दाबी पेस गर्न बिहीबार मध्यरातमै समय माग गरे पनि शुक्रबारसम्म नै समय रहेको भन्दै प्रदेश प्रमुख कार्यालयले अस्वीकार गरेको थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH