मन्त्री भट्टराईले गरे उद्योगका लागि दक्ष कामदार उत्पादन गर्ने नीतिगत निर्णय

२०८१ जेष्ठ २५, शुक्रबार १७:३७
शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता
जनकपुरधाम, २५ जेठ ।
नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले विभिन्न किसिमका रोजगारमूलक सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण मार्फत उद्यमशीलता तथा रोजगारी प्रवद्र्धनका लागि विभिन्न सरकारी, निजी तथा गैरसरकारी क्षेत्रसँग सहकार्य गर्ने निर्णय गरेका छन् ।

मन्त्री पदको शपथग्रहणपछि जनकपुरधामको मधेश भवनस्थित मन्त्रालयमा कार्यभार सम्हालेका मन्त्री भट्टराईले स्थानीय जनताका लागि थप रोजगार सिर्जना गर्न सो नीतिगत निर्णय गरेका हुन् ।

कृषिक्षेत्रमा महत्वपूर्ण योगदान दिने मधेश प्रदेशमा कृषिजन्य उत्पादनमा आधारित उद्योगहरूका लागि भारतबाट कामदार ल्याउनुपर्ने स्थिति रहेकाले ती उद्योग प्रवद्र्धन तथा रोजगार सिर्जना गर्न आवश्यक तालिम र प्रविधि हस्तान्तरणका लागि सो नीतिगत निर्णय लिएको मन्त्री भट्टराईले बताए ।

धान, गहुँ, उखु, जुट र सूर्ति आदि बाली उत्पादनको दृष्टिले मधेश प्रदेश अग्रणी मानिन्छ । मन्त्री भट्टराईले गरेका निर्णय कार्यान्वयन भए प्रदेशका सिमेन्ट, प्लास्टिक पाइप, फलामे डण्डी, टेक्सटाइल धागो, फुड र फिड, खाद्य प्रशोधन आदि उद्योगका लागि दक्ष कामदार उत्पादन हुनेछन् ।

प्रदेशको संयुक्त सरकारका मन्त्री भट्टराई नेकपा माओवादी केन्द्रको संसदीय दलका उपनेता समेत हुन् । अघिल्लो सरकारमा समेत उनले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नै सम्हालेका थिए । पूर्ववर्ती सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता गर्ने निर्णय गरेपछि उनले पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH