मधेश सिद्धियो भने भ्रममा नपरे हुन्छ : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

२०८१ जेष्ठ २६, शनिबार २३:३५
जनकपुरधाममा जेठ २८ बाट आयोजना हुने जनता समाजवादी पार्टी नेपालको त्रिदिवसीय महाधिवेशनको सन्दर्भमा प्रेस मञ्च नेपालले जनकपुरधामको मसला कटेजमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत । तस्बिर : टोलपडोस

टोलपडोस समाचारदाता
जनकपुरधाम, २६ जेठ ।
जनकपुरधाममा आगामी जेठ २८ बाट सुरु हुने एकताको पहिलो राष्ट्रिय महाधिवेशनअघि पार्टी अध्यक्ष उपेन्द्र यादव शनिबार पत्रकारहरूसामु निकै जोशिला र आत्मविश्वासी मुद्रामा देखिए । जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दर्बिलो स्वरमा भने, ‘सत्ता र शक्ति निर्माणका लागि जसपा नेपाल सबैलाई चाहिएको छ । त्यो जसपा नेपाल होस् वा जसपा नेपालबाट चोइटिएका किन नहोस् ।’

सङ्घीय गणतन्त्रका विरोधीलाई आफूहरूसँग चोइटिएकाको सहारा लिनुपरेको भन्दै जसपा नेपालका अध्यक्ष यादवले आफ्नो पार्टीलाई हिरा र चुम्बकसँग तुलना गरे । उनले भने, ‘पार्टीको महत्व बढेको छ । डाइमन्ड जति टुक्रा भयो भने पनि डाइमन्ड नै हुन्छ । म्यानेटको सानो प्वालजतिको टुक्रा पनि म्यागनेट नै हुन्छ ।’

राज्यको सम्पूर्ण शक्ति लागेर संसद्भित्र सँख्यामा परिवर्तन हुँदा पार्टीको शक्ति क्षीण नभएको दाबी गर्दै उनले जसपा नेपाल अझ नयाँ ढङ्गले सुदृढ भएर आउने बताए । उनले भने, ‘कुनै वस्तुमाथि प्रहार गर्दा तल गएजस्तो हुन्छ तर फेरि त्यो वस्तु शक्तिशाली भएर माथि आउँछ ।’

अध्यक्ष यादवले आफूहरू आत्मबलका साथ अघि बढिरहेको र हरेक परिस्थितिको सामना गर्ने बताए ।

उनले राज्यको स्रोतसाधन र शक्ति लागेर पार्टीबाट केही व्यक्ति लगिए पनि पार्टी यथावत् रहेको भन्दै पार्टीका केही नेताहरूलाई मोहरामात्र बनाइएकाले जसपा नेपालको विभाजन भएको नमिल्ने जिकिर गरे । उनले भने, ‘चोइटिएर गएकाहरूले नीतिगत, वैचारिक र सैद्धान्तिक मतभेद छैन भनेका छन् । त्यसैले कोही मन्त्री बन्न, कोही मन्त्री बनेर राम्रो मन्त्रालय पाउन अनि धन भित्र्याउन गएका छन् । त्यसभन्दा अर्को लक्ष्य उनीहरूको छैन ।’

अध्यक्ष यादवले पार्टीका एक लाख ४५ हजार क्रियाशील सदस्यमा ९९ प्रतिशत सदस्य र केन्द्रीय समितिका दुईतिहाइ सदस्य जसपा नेपालमै रहेको जानकारी दिए ।

उनले मन्त्रिपरिषद्ले आफूलाई जनसँख्यासम्बन्धी समिटका लागि राष्ट्रसंघीय महासभामा नेपालको प्रतिनिधित्व गर्न पठाएका बेला त्यसतर्फ उड्नेबित्तिकै पाँचसात सांसदलाई राज्यको पुरै शक्ति र स्रोतसाधन सबैको दुरुपयोग गरेर निर्वाचन आयोगलाई समेत घोक्रेठ्याक लगाई राति निवेदन लिन बनाउने अनि बिहानै दर्ता गर्न लगाउने काम नेपालको इतिहासमा पहिले नभएको बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्ने शपथ खाएका प्रधानमन्त्रीले सिन्धुलीमा सत्ता टिकाउनका लागि आफूले जसपालाई फुटाएको घोषणा गरेको भन्दै अध्यक्ष यादवले घोक्राएर पार्टी फुट्न लगाएको आरोप निन्दनीय भएको बताए ।

उनले मधेश निकै लामो समयसम्म हेपिएको र भर्खरै पार्टी गर्ने, संगठित हुने र लड्ने अवस्थामा पुगेका बेला राज्यले निरन्तर प्रहार गर्दै आएको बताए । उनले त्यस्तो प्रहार जसपा नेपालले सुरु गरेको पहिचान, सहभागिता र प्रतिनिधित्व र संघीयतालाई बलियो बनाउने आन्दोलन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमाथिको प्रहार भएको बताए ।

वैचारिक र संगठनात्मक रूपले मधेश मजबुत रहेको औंल्याउँदै अध्यक्ष यादवले मधेशलाई कसैले दास बनाउन नसक्ने र आन्तरिक उपनिवेशलाई तोडेर अगाडि बढ्ने तागत मधेश रहेको उल्लेख गरे । उनले भने, ‘कसैमा मधेश सिद्धियो भन्ने भ्रम नरहोस् ।’

उनले मधेशबाट उठेका पहिचान, सङ्घीयता र समावेशिताका सबाल आज राष्ट्रको केन्द्रीय सबाल भएको भन्दै जसपा नेपालको पहल र अगुवाइमा नै देशमा पहिचानको आन्दोलन अघि बढेको प्रस्ट्याए । मधेशमा मात्र नभएर प्रदेश १ मा पहिचानको आन्दोलन अघि बढेको र त्यो आन्दोलन अघि बढ्दै जाने उनले बताए ।

उनले आठ जिल्लामा मात्र मधेश नभएर मेचीदेखि महाकालीसम्म मधेश र तराई रहेको बताए । उनले सात प्रदेशको अहिलेको राज्यपुनर्संरचना वैमनस्यपूर्ण रहेको बताउँदै एक गैरभौगोलिक गरी थप दससहित एघार प्रदेशको अवधारणाका पक्षमा रहेको स्पस्ट पारे । उनले पहिचान र साम्थ्र्यका आधारमा राज्यपुनर्संरचना गर्ने भनेर राज्य पुनर्संरचना आयोगको सुझाव र संविधानसभाले अगाडि बढाएको स्मरण गर्दै अध्यक्ष यादवले त्यस आधारमा आफूहरूले दस जोड एक प्रदेशको अवधारणा ल्याएको बताए । ‘त्यसमा मधेशमा दुइटा प्रदेश बनाउने थियो । नारायणी पश्चिम एउटा र नारायणी पूर्व अर्को,’ उनले भने ।

मधेश आन्दोलनका दौरान समग्र मधेश एक स्वायत्त प्रदेशको नारा उठेको र अन्तरिम संविधानको धारा १३८ मा स्वायत्त मधेश प्रदेशसहित अन्य प्रदेश हुने उल्लेख भएको र त्यसअनुसार नै संविधानमा राख्ने भए पनि सरकार आफैँले गरेको सम्झौता र लेखेको संविधानविपरीत राज्यपुनर्संरचना गरेको उनले बताए । त्यसविरुद्ध मेचीदेखि महाकालीसम्मको छ–छ महिनासम्मको ऐतिहासिक आन्दोलन भएको भन्दै अध्यक्ष यादवले सात प्रदेशको राज्यपुनर्संरचना मधेशलगायत मधेशसँगै पहाडी आदिवासी जनजाति लगायत राष्ट्रियताहरू, जातीय र सामाजिक समुदायसँग धोखा भएको बताए ।

अध्यक्ष यादवले संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, मौलिक हक, नागरिक स्वतन्त्रताजस्ता मुद्दा स्थापित हुने स्थिति मधेश र आदिवासी जनजाति आन्दोलनको महत्वपूर्ण उपलब्धि भएको औंल्याउँदै तिनलाई संस्थागत गर्दै अगाडि बढ्ने आफूहरूको कार्यनीति रहेको थपे ।

सहकार्य गर्ने दृष्टिले मधेश र आदिवासी जनजातिसँग जोडिएका राष्ट्रिय मुद्दाका पक्षमा उभिने संघीयता र समावेशिता पक्षधर पहिलो प्राथमिक्तामा रहेको र लोकतन्त्र र गणतन्त्र रक्षाका लागि उभिने दोस्रो प्राथमिक्तामा रहेको भन्दै उनले जसपा नेपाल अन्यसँग सहकार्य गर्ने सबालमा ‘क्लोज’ नरहेको तर आफ्नै बाहुबलमा अघि बढ्ने तयारी गर्ने बताए ।

उनले पञ्चायतदेखि अहिलेसम्म कुनै पनि सरकार पुरा कार्यकालसम्म नचलेको भन्दै मधेश प्रदेशमा गत पाँच वर्षसम्म जसपा नेपालले राजनीतिक स्थिरता दिएको बताए । ‘अन्य प्रदेशमा पाँच महिनामा पाँच सरकार बदलिरहँदा मधेशमा पाँच वर्षसम्म सरकार चल्यो,’ उनले भने ।

जसपा नेपालले सरकारको नेतृत्व गर्न चाहने कारणले मधेशमा सरकार परिवर्तन भएको कुरा सत्य नभएको उनले बताए । केन्द्रमा सरकार बदल्दा प्रदेशमा भुइँचालो जाने दुर्भाग्यपूर्ण र गलत परम्पराका कारण सरकार परिवर्तन भएको उनको कथन छ ।

मधेशमा १६ सिट जितेको जसपा नेपालमा तीनजना संगठित भएर १९ मात्र भए पनि प्रदेश सरकारले ५० मत ल्याएको सन्दर्भ उल्लेख गर्दै उनले प्रदेशमा समाजवादी र लोकतान्त्रिक शक्तिसँग सहकार्य भइरहने बताए । अध्यक्ष यादवले प्रदेशको नयाँ सरकारलाई पार्टीले जनताका मुद्दामा रचनात्मक सहयोग गर्ने बताए ।

अध्यक्ष यादवले संघ सरकारले ल्याएको बजेट आग्रहपूर्वाग्रह प्रेरित तथा मधेशतराईविरोधी भएको टिप्पणी गरे । उनले मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको र धेरै जनसँख्या भएको मधेश प्रदेशमा सबैभन्दा कम बजेट छुट्याउनुले सरकारले मधेशको विकासलाई आफ्नो विकास र मधेशका जनतालाई आफ्ना जनताका रूपमा नलिएको अर्थमा बुझ्नुपर्ने बताए । उनले भने, ‘सरकार मधेशको विकासमा लगानी गर्न हिचकिचाउँछ । लगानी गर्न कन्जुस्याइ गरेको छ ।’

समग्र तराईको विकासका लागि १२ प्रतिशत पनि बजेट नरहेको भन्दै त्यस्तोमा तराईमधेशको विकास नहुने अध्यक्ष यादवको ठहर छ । उनले तराईमधेको विकास हुन नसके देशको विकास नहुने भन्दै मानव विकास सूचकांकमा पछि परेका तर प्रशस्त सम्भावना भएका ठाउँमा लगानी गरेर बढ्ने स्थित बजेटमा नदेखिएको र बजेटले रोजगारी हल नहुने, गरीबीलाई राहत नपुग्ने, कृषि उत्पादन नबढने तथा शिक्षा र स्वास्थ्यमा सुधार नहुने ठोकुवा गरे ।

अध्यक्ष यादवले बजेटमा पुराना बन्द भएका उद्योगलाई परिचालन गर्ने योजना नभएको पनि बताए ।

उनले प्राथमिकता हराएको बजेटबाट मुलुकमा देखिएको आर्थिक संकट, मन्दीको वातावरण, उद्योग व्यवसाय चौपट्ट हुँदै अवस्था, बढ्दै गएको बेरोजगारीजस्ता समस्या समाधान नहुने बताए । उत्पादन बढाउने, बेरोजगारी घटाउने तथा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिक्तामा राखेर परिवर्तनको गति अघि बढाउने कार्यमा बजेट निर्माण गर्दा सरकार चुकेको उनले आरोप लगाए ।

बर्खाको मौसम सुरु हुन लागेका बेला किसानहरूलाई मलखाद, सिँचाइ आदिको व्यवस्थापन गर्न सरकार चुकेको भन्दै अध्यक्ष यादवले उखु र दुध किसानको भुक्तानी तथा मलखादको व्यवस्था गरेर किसानलाई राहत दिन सरकारसँग माग गरे ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH