मुख्यमन्त्रीहरूद्वारा बकर इदको शुभकामना
२०८१ असार ३, सोमबार १४:०५
![](https://tolpados.com/wp-content/uploads/2024/06/Bakra_Eid_Upasana-scaled.jpg)
काठमाडौँ, ३ असार(रासस)
इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले शुभकामना दिएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बकर इदको अवसरमा शुभकामना दिँदैै बहुपहिचान, बहुधार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको बकर इदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रदान गर्ने बताएका छन् । यस पर्वले कोशीमा मात्रै नभएर मुलुकभर एवम् विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने उनको शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बकर इद (उल–अजहा) को अवसरमा शुभकामना दिँदै सबै चाडपर्व तथा संस्कृतिको संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धितर्फ देशलाई लैजान सकिने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बकर इद (उल–अजहा) पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने बताएका छन् । बकर इद (उल–अजहा) पर्वको अवसरमा शुभकामना दिँदै उनले यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने उल्लेख गरेका छन् ।
यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बकर इद (उल–अजहा) को अवसरमा शुभकामना दिँदै यस पर्वले बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउने बताएका छन् । समाजमा तृष्णा, लोभ र द्वेषलाई त्यागेर सकारात्मक सोचको विकास गरी समाज रूपान्तरणमा नेपाली समाजमा मनाइने चाडपर्वबाट सहयोग पुग्ने उनको सन्देशमा उल्लेख छ ।
बकर इदको अवसरमा शुभकामना दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जातजाति, वेशभूषा, संस्कृति र परम्पराको विविधता रहेको नेपालमा यस पर्वले एकता र सहकार्यको वातावणलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । बकर इद लगायतका चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि भइ राष्ट्रिय एकता थप सुदृढ हुने उनको शुभकामना सन्देशमा भनिएको छ ।