जनकपुरधाम : सञ्चालनमा नरहेको सोनिया धर्मशालामा व्यापारिक सटर

२०८१ असार ३, सोमबार १८:१५


टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ असार ।
धर्मोद्देश्यले करिब साढे पाँच दशकअघि स्थापना गरिएको जनकपुरधाम उपमहानगरपालिका–६ स्थित सोनिया धर्मशालाको जग्गामा अहिले व्यापारिक प्रयोजनका सटर निर्माण गरी भाडा लगाइएको छ । केही वर्षयता जीर्णशीर्ण रहेको धर्मशाला भने सञ्चालनमा छैन ।

तत्कालीन जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आउने बिरामी तथा कुरुवा, जानकी मन्दिरलगायत धर्मस्थलमा पूजाआजा गर्न आउने श्रद्घालुभक्तजन र वरपरका बासिन्दाका लागि बिहाव्रतबन्ध लगायत सामाजिक तथा साँस्कृतिक उत्सवका लागि सोनिया धर्मशाला वर्षौँदेखि प्रयोग हुँदैआएको थियो ।

महोत्तरीको लोहारपट्टी निवासी सोनिया साहले सो धर्मशाला निर्माण गरिदिएकी थिइन् । उनी दिवंगत भइसकेकी छिन् । सो धर्मशाला रेखदेख गर्न अधिकृत व्यक्तिहरूको हेलचेक्रयाइँ र कुनियतका कारण जीर्णोद्धार हुन नसकी गत छ वर्षअघि धर्मशाला बन्द भएको थियो ।

अहिले धर्मशाला अगाडि सातवटा ठूला र सानागरी सातवटा सटर बनाइएका छन् । औषधि पसल र अन्य चिकीत्सकीय व्यवसायका लागि ती सटर भाडामा लगाइएको छ । दुईदेखि तीन लाख रुपैयाँसम्म धरौटी र मासिक २५ हजार रुपैयाँ लिनेगरी प्रतिसटर भाडा लगाइएको छ । भाडा रकम दिवंगत सोनियाकी भतिज नातामा पर्ने रामनारायण साहले असुल्दै आएका छन् ।

साहलगायतको एउटा समूहले ती साटवटा सटर रहेका भवनको पछाडि सटर थप्न निर्माण विस्तार गरिरहेको धर्मशाला रहेको टोलवासीको आरोप छ ।  धर्मशाला मासेर व्यवसायिक भवन बनाउन टोलवासीको आँखामा छारो हालेर कोभिड कालमा भवन बनाइएको थियो । त्यसपछि लुकिछिपी निर्माण कार्य गराउँदैआएको टोलवासीको भनाइ छ ।

यता साहले भने धर्मशाला पुनर्निर्माणका लागि व्यापारिक प्रयोजनका भवन बनाई भाडामा लगाइएको बताए ।

प्रादेशिक अस्पताल जनकपुरधाम अगाडि दक्षिणपट्टिको गल्लीमा रहेको धर्मशालामा छ–सात वर्षअघिसम्म इन्चार्जका रूपमा काम गरेका सीमावर्ती भारतीय जिल्ला मधुबनीको बिसौल निवासी रामचन्द्र साहले बन्द हुनुअघिसम्म सबै खर्च कटाएर धर्मशालाको वार्षिक आम्दानी एक लाख रुपैयाँसम्म रहेको बताए । उनले सो रकम साहका नातेदार रामनारायण साहको खातामा जम्मा हुने गरेको बताए ।

उनले धर्मशालाकी निर्मात्री साहका नातेदारहरूले सरोकार नराखेपछि धर्मशाला बन्द भएको जानकारी दिए । साह सानैमा विधुवी भएकी र सार्वजनिक हित हुने उद्देश्यले धर्मशाला स्थापना गरेकी उनले बताए । धर्मशालामा इन्चार्जका रूपमा साहले एघार वर्षसम्म काम गरेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH