कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित
चितवन, ३ असार (रासस)
कृषि तथा वनविज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई दीक्षित गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्राडा अजयकुमार मिश्र उपस्थित भएका थिए। सो अवसरमा स्नातक तह उतीर्ण सात सय ९८ जना दीक्षित भएका छन् ।
विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मीका अनुसार कृषि संकायतर्फ पाँच सय ६८, पशुचिकित्सातर्फ ४७, मत्स्यविज्ञानका २६ जना र वनविज्ञानका एक सय ५७ जना विद्यार्थी दीक्षित भएका हुन्।
स्नातकोत्तरतर्फ कृषिका एक सय २३ जना, पशुचिकित्साका ३६, पशुविज्ञानका २० जना, मत्स्यविज्ञानका १३ जना र वनविज्ञानका ६० गरी दुई ५२ विद्यार्थी दीक्षित भएका छन् ।
विद्यावारिधिमा दीक्षित भएका नौजनामध्ये आठजना कृषि र एकजना विद्यार्थी वनविज्ञानका छन् ।
विश्वविद्यालयको यो चौथो दीक्षान्त समारोह हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने बताए।
सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षरोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।