चुरे संरक्षणको माग सम्बोधन गर्न सरकारलाई सांसद ढुङ्गानाको आग्रह
काठमाडौँ, ४ असार(रासस)
चुरे संरक्षण तथा पानी उपलब्धताको माग गर्दै २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत मधेसीहरूको माग सम्बोधन गर्न राष्ट्रियसभा सदस्यहरूले सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरूले मधेसवासीहरू चुरे बचाउ तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरूका माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराए ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे पनि खानेपानीका विषयमा र चुरे दोहन नियन्त्रणका लागि सरकार गम्भीर नरहेकामा असन्तुष्टि जनाए । “चुरे दोहनका कारण मधेसमा खानेपानीको अभाव भइरहेको, यसमा सरकारको ध्यान जाओस्,” उनले भने ।
सांसद किरणबाबु श्रेष्ठले सरकारी कर्मचारीहरू न्यून तलबमा काम गरिरहेको उल्लेख गर्दै यस वर्ष पनि तलब नबढेकोमा असन्तुष्टि जनाए । सांसद पदमबहादुर परियारले स्वास्थ्य बिमा कार्यक्रम सफल भए पनि तर बिमा गराउने कर्मचारीले प्रोत्साहन रकम पाउन नसकेको गुनासो गरे ।
सांसद रुक्मिणी कोइराला ताप्लेजुङमा बाढीपहिरोका कारण मुत्यु भएका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग गरे ।
सांसद रेणु चन्दले कर्मचारीहरूलाई अतिरिक्त काम गरेबापत प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिए । सांसद विष्णुकुमारी सापकोटाले विगत १२ दिनदेखि छोरीको न्यायको खोजीमा अनशनरत रुबी खानको जीवनरक्षाको माग गरे ।