विपत् व्यवस्थापनबारे विद्यालयस्तरमै शिक्षा आवश्यक : मुख्यमन्त्री सिँह

टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले विपत् व्यवस्थापनसम्बन्धी ज्ञानमूलक शिक्षा विद्यालयस्तरबाटै दिनुपर्ने बताउँदै यससम्बद्ध तालिममा बालबालिका तथा युवालाई सहभागी गराउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा मंगलबार जनकपुरधाममा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तक्र्रियामा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।
बालबालिका तथा युवाले देश र समाजको भविष्य निर्धारण गर्ने हुँदा उनीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा, ज्ञान र चेतना दिनुपर्ने उल्लेख गरे ।
आफू गाउँपालिका अध्यक्ष हुँदाका अनुभव सुनाउँदै उनले गैरसरकारी सङ्घसंस्थाका भरमा विपत् व्यवस्थापन प्रतिकार्य कार्यक्रम हुँदैआएको पाइएकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गैरसरकारी संस्थासहितको सहकार्यमा विपत् व्यवस्थापन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
उनले भने, “आउनुस्, हातेमाले गरेर मधेसमा काम गरौँ, तपाईँहरूसँग सहकार्य गर्न मधेस प्रदेश तयार छ । मधेस प्रदेशमा भइरहेका विपद् जोखिम न्यूनीकरण गर्न पीडितहरूलाई मिलेर सहयोग गरौँ ।”
तराई मधेसमा जाडोमा शीतलहर र अत्यधिक जाडो, गर्मीमा ‘लु’ रोग तथा आगलागी र बर्सात्मा चट्याङ तथा बढीजस्ता समस्याले सधैँभरि सताइरहेको बताउँदै मुख्यमन्त्री सिँहले त्यस्ता विपत्लाई न्यूनीकरण गर्न सङ्घबाट बाझिएको कानुनलाई फुकाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा प्राविधिक व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा डिजन भट्टराईले विपत् जोखिम न्यूनीकरणमा प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले प्रदेशमा हुने विपत् व्यवस्थापन कार्यमा सहकार्यका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।