प्रदेशमा सचिव विवाद

प्रदेशमा सङ्घका कर्मचारीको हालीमुहाली बेथितिपूर्ण छ : मुख्यमन्त्री सिँह

२०८१ असार ५, बुधबार ०९:४५


टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा सचिव पदस्थापना विषयलाई तत्काल टुङ्गो लगाउन विभागीय मन्त्रीलाई जिम्मा लगाएका छन् ।

सङ्घ सरकारले मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिवका लागि एघारौँ तहका डा.सञ्जय ठाकुरलाई पठाएपछि विवाद उत्पन्न भएको छ । मन्त्रालयका कर्मचारीहरूले सचिवका लागि तहगत योग्यता पुगिसकेका अधिकृतहरू मधेश प्रदेशमै रहेका र कानुनसमेतले सचिव पदमा प्रदेश निजामती कर्मचारीबाटै पूर्ति हुनुपर्ने भन्दै डा.ठाकुरलाई मन्त्रालयमा मंगलबार हाजिर हुन दिएनन् ।

प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव एघारौँ तहका डा.प्रमोदकुमार यादव छन् । प्रदेश सरकारले डा.यादवलाई मन्त्रालयका सचिवमा पदस्थापित गरेको हो । उनको पदस्थापनासँगै प्रदेश सचिवका लागि सङ्घ सरकारले सचिवका लागि अधिकृत पठाउनुपर्ने स्थिति नरहेको र त्यसरी अधिकृत पठाउने काम कानुनसम्मत नभएको मन्त्रालयका कर्मचारीहरूको जिकिर छ ।

मधेश प्रदेशमा एघारौँ र बाह्रौ तहका अधिकृत सचिव हुने व्यवस्था छ ।

कर्मचारी समायोजन ऐन र प्रदेश निजामती कर्मचारी ऐनमा प्रदेशमा कर्मचारी नभएमा मागका आधारमा सङ्घबाट कर्मचारी पठाउने व्यवस्था सुनिश्चित गरेको छ । तर, प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालय मातहतका प्रायः सबै निकायमा सङ्घका कर्मचारीहरू प्रमुख छन् । मुद्दामुकदिमा, जालझेल र लिपापोती गरेर सङ्घका कर्मचारीहरू ती निकायमा प्रमुखका रूपमा काम गरिरहेका मन्त्रालयका कर्मचारीहरूको आरोप छ ।

मुख्यमन्त्री सिँहले प्रदेशका प्रमुख पदहरूमा सङ्घका कर्मचारीहरूको वर्चस्व रहेकोमा चिन्ता व्यक्त गरे । ’सङ्घीय शासन व्यवस्थामा यस्तो हुनु बेथिति हो,’ बुधबार टोलपडोससँग उनले भने ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा सचिव डा.यादवसँगै थप चारजना एघारौँ तहका कर्मचारी छन् भने करिब ३० जना नवौँ र दसौँ तहका अधिकृत छन् । तर, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालय र प्रदेश जनस्वास्थ्य निर्देशनालयमा सङ्घका कर्मचारी प्रमुख छन् ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH