योगाभ्यासलाई निरन्तता दिन मुख्यमन्त्री सिँहको आग्रह

२०८१ असार ५, बुधबार १०:०६


टोलपडोस समाचारदाता
जनकपुरधाम, ५ असार ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले योगले निरोगी बनाउने भन्दै योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताएका छन् ।

दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जले बुधबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् । उनले नागरिक स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने बताए । योगलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा मुख्यमन्त्री सिँहले जोड दिए ।

मुख्यमन्त्री सिँहले योग दिवसमार्फत योग प्रवद्र्धन गरेकामा भारतीय महावाणिज्य दूतावास वीरगञ्जलाई धन्यवादसमेत दिए ।
चित्त र वृत्तिलाई शुद्ध बनाउने अभ्यासलाई योग भनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाइँदै आएको छ ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH