मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा.साह
टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ असार ।
मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा.सोहनकुमार साह नियुक्त भएका छन् ।
डा.साह यसअघि जनमत पार्टीसहितको जसपा नेपाल नेतृत्वको सरोजकुमार यादव सरकारमा केही समय आयोगका सदस्यका रूपमा काम गरेका थिए । तत्कालीन सरकारबाट जनमत पार्टी बाहिरिएलगत्तै डा.साहलाई आयोग सदस्यको जिम्मेवारीबाट मुक्त गरिएको थियो ।
जनकपुरधामका डा.सोहन सामाजिक विज्ञानका अध्येता एवम् अनुसन्धानविज्ञ हुन् ।
उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विज्ञान, प्रविधि तथा अभिनव नीतिमा एमफिल र पिचएडी गरेका हुन् ।
उनी भारतीय छात्रहरूसँग प्रतिस्पर्धा गर्दै परीक्षामार्फत जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रवेश गरेका थिए ।
उनले दिल्लीकै जामिया हमदर्द विश्वविद्यालयबाट फाइनान्स एन्ड मार्केंटिङमा स्नातकोत्तर गरेका छन् । स्नातकोत्तर सकेपछि उनले भारतका स्ट्यान्डर्ड चार्टर्ड बैंक र जम्मु एवम् कश्मीर बैंकमा काम गरेका थिए ।
नेपालमा शान्तिप्रक्रिया, संविधान लेखन र मधेशका मुद्दा, राजनीतिक दलका भूमिका, राष्ट्रले अपनाउनुपर्ने सैद्धान्तिक तथा वैचारिक बाटाका विषयमा बहस चुलिएका बेला उनले सामाजिक अध्ययनतर्फ रुचि लिएका थिए ।