पाठ्यक्रममै ट्राफिकसम्बन्धी विषय समावेश गरिनुपर्छ : मुख्यमन्त्री सिँह

२०८१ असार ६, बिहीबार १४:५६

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ असार ।
सडक अनुशासनको पालना, दक्ष र अनुभवी चालकको सँख्यावृद्धि, मापदण्डअनुसारका सडक संरचना, सवारीसाधन प्रयोगकर्तामा सडक नियमबारे ज्ञानोन्नयन, सवारीसाधनको दुरुस्त यान्त्रिक तथा भौतिक अवस्था र सडक प्रयोगकर्तामा सचेतता बढोत्तरीजस्ता उपायबाट सडक दुर्घटना न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको बेला जनकपुरधाममा बिहीबारबाट ट्राफिक सप्ताह नाम दिइएको ट्राफिक जनचेतनामूलक कार्यक्रम –२०८१ आरम्भ भएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा सुरुभएको ट्राफिक सप्ताहको शुभारम्भ कार्यक्रममा नेपालमा औसत दैनिक ९ जना र बर्सेनि पाँच हजारको सडक दुर्घटनामा मृत्यु भइरहेको र त्यसको कयौँ गुणा घाइते हुने गरेको अवस्थामा सडकलाई सुरक्षित र भरपर्दो बनाउन सडक, सवारीसाधन तथा जनशक्तिसँग जोडिएका विषयमा नीतिनियम निर्माण र नियमन सँगै ट्राफिकसम्बन्धी चेतनामूलक कार्य तीव्र हुनुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिँहले विद्यालयका पाठ्यक्रममै ट्राफिकसम्बन्धी विषय राख्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । उनले पाठ्यक्रममै ट्राफिकसम्बन्धी विषय राखिएपछि त्यसबारेका आवश्यक र उचित जानकारी सुरुबाटै हुने र दुर्घटना न्यूनीकरणका लागि ती सबै कुराले सचेततासँगै संवेदनशीलता अभिवृद्धि गर्ने बताए ।

दुर्घटनाबाट हुने जनधनको क्षति कम गराउने दायित्व तीनै तहका सरकारको भएको बताउँदै मुख्यमन्त्री सिँहले सडक सुरक्षासम्बन्धी कार्यमा संलग्न देशका सबै निकायले समन्वय गरी प्रभावकारी काम गर्नुपर्ने उल्लेख गरे ।

सडक दुर्घटनाले राज्यले उत्पादनशील नागरिक गुमाइरहेको र उनीहरूका कार्यक्षमतामा ह्रास आइरहेको विकराल परिस्थिति रहेको भन्दै उनले सडक दुर्घटनाको रोकथाम गर्न सडकको स्तरोन्नति, सडक फर्निचर र ट्राफिक चिह्न विकास, सवारीसाधन नियमन, चालकको दक्षता वृद्धि र पैदलयात्रुमा सडक सुरक्षासम्बन्धीे ज्ञान बढाउने कुरामा राज्यका निकायहरूले द्रुत गतिमा काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिँहले सडक तथा ट्राफिक व्यवस्थापनमा प्रदेश सरकारले काम गरिरहेको भन्दै क्षेत्राधिकारभित्रका व्यवस्थाकीय कार्य सबै सरकारले गरे सडक दुर्घटनामा उल्लेखीय प्रगति हासिल गर्न सकिने बताए ।

भित्रि सडकमा सवारीसधनको बढ्दो चाप, सडकमा छाडा चौपायाको उपस्थिति, विस्तारित हुँदै गएको सडक सञ्जालको दाँजोमा ट्राफिक प्रहरी एकाइको अभाव, अटो रिक्साहरूको व्यवस्थापनमा देखिएका कठिनाइ, सडक सुरक्षासँग जोडिएका उपकरण अभाव पनि सडक दुर्घटनाका कारक रहेको मुख्यमन्त्री सिँहको कथन छ ।

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री विमला अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH