पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री सिंह
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुने बताएका छन्।त्यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा काम पनि थालिसकेको उनले बताए।
बुधबार पर्यटन विकास कार्यलय वीरगन्जले आयोजना गरेको सरकोकारवालासंग अन्तरक्रिया एंव संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले भने,‘ मधेस प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन पनि हो। यदि पर्यटन क्षेत्रको विकास गर्न सकियो भने यो प्रदेशको कायापलट गर्न सकिन्छ। यसका लागि निजी क्षेत्रलाई पनि सँगै लिएर प्रदेश सरकारले काम पनि थालिसकेको छ।’
प्रदेश सरकारको आगामी निती, कार्यक्रम तथा बजेटमा पर्यटकीय क्षेत्रका पूर्वाधार विकास र प्रचार प्रसारका लागि योजना र कार्यक्रमहरू समावेश गरिसकिएको जानकारी पनि उनले गराए।
मधेस प्रदेशमा पर्सा र बारा, रौतहट र सर्लाही, महोत्तरी र धनुषा तथा सिरहा र सप्तरीका पर्यटकीयस्थललाई जोडेर चार वटा पर्यटकीय सर्किट बनाउने काम भइरहेको उनले बताए। मधेस प्रदेशमा घुम्न आउने पर्यटकलाई कम्तिमा पनि तीन दिन बास बसाउन सक्ने गरी पर्यटन क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको जानकारी उनले गरााए।
मुख्यमन्त्री सिंहले भने, ‘अहिलेको सरकार पहिलेको सरकारको जस्तो मोजमस्ती गर्नका लागि बनेको होइन। रातदिन काम गर्नका लागि बनेको हो। मधेस सरकारमाथि विगत ७ बर्षदेखि परेको नकरात्मक धारणालाई मेट्ने गरी अहिलेको सरकारले काम गरिरहेको छ।’