मधेश प्रदेश पर्यटकीय सम्भावनाको उर्वरभूमि छ : मुख्यमन्त्री सिँह

२०८१ असार १३, बिहीबार १८:३२
टोलपडोस समाचारदाता
जनकपुरधाम, १२ असार ।
मधेश प्रदेश पर्यटकीय सम्भावनाको उर्वरभूमि रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बताएका छन् ।
बिहीबार होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिँहले मधेश चुरे पर्वत श्रेणीबाट भारतीय सीमासम्म फैलिएको भौगोलिक विविधतायुक्त प्रदेश रहेको बताए ।
“हामीले पर्यटन प्रवद्र्धन गर्न प्रदेशका आठ जिल्लालाई चार समूहमा राखेर काम गर्ने निर्णय गरेका छौँ,” मुख्यमन्त्री सिंहले भने, “सम्भावित नयाँ ठाउँको पहिचान र यसअघि नै विशिष्ट महत्व बोकेका स्थलको संरक्षण र प्रवर्द्धन गरिनेछ ।”
मुख्यमन्त्री सिँहले मधेशका वन, भूगोल, धार्मिकस्थल, कृषि र स्वास्थ्य पर्यटनका मुख्य क्षेत्र बन्नसक्ने उल्लेख गरे । “आँखा र सर्पदंशको उपचार लिन भारतको बिहारबाट मान्छे आउँछन्, हामीले यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सक्नुपर्छ,” उनले भने ।
चुरे शृङ्खलाका चनौटे, बेसारेसहितका उच्च डाँडालगायतका स्थान पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको उनको भनाइ छ ।
जनकपुरधाम, राजविराज र सिमरासहित तीन विमानस्थललाई मुलुकका विभिन्न ठाउँसँग हवाईमार्गमा जोडेर व्यापार, व्यवसाय र पर्यटन प्रवर्द्धन गर्न सकिने उनले उल्लेख गरे ।
“पर्वतीय क्षेत्र अवलोकन गर्न चाहने पर्यटकलाई हाम्रा विमानस्थलबाट १० मिनटमै अवलोकन गराउन सक्छौँ”, मुख्यमन्त्री सिंहले भने, “हामीले यसका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ ।”
विकासका सन्दर्भमा जनतामा पलाएको आशा मर्न नदिने मुख्यमन्त्री सिँहले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा आयोजकका तर्फबाट मुख्यमन्त्री सिँहलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमले अभिनन्दनपत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tol Pados

Maintained By PROTECH