विपद्जन्य घटनाबाट चारजनाको मृत्यु
बनियानी, २५ असार(रासस) ।
झापामा मनसुनजन्य घटनामा चारजनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चारजनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार खोलाले बगाएर दुईजना र चट्याङ लागेर दुईजनाको मृत्यु भएको हो ।
खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ । मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रु एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ ।
जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ घर डुबानमा परेका छन् । २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिए ।
सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत् गरेको छ । मनसुनजन्य घटनामा परी चारवटा पशु मरेका छन् । जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न एक सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।