सिमलताल पहिरो : जवाहीरको परिवारमा परेको पीडा
२०८१ श्रावण १, मंगलवार १७:३७

वीरगञ्ज, (पर्सा) १ साउन(रासस) ।
वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटकपटक आफ्नो पति जवाहिर महतोलाई सम्झिँदै भक्कानिएर रुँदै आइरहेकी छिन् ।
उनको पति जवाहिर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ ।
“छोराले चलाएको बस बगाएको खबर सुनेदेखि परिवारका सबै सदस्य विक्षिप्त छन् । त्यसमा पनि बुहारीको स्वास्थ्य अवस्था साह्रै्र खराब भइरहेको छ,” जवाहिरका ६६ वर्षे पिता भगवान् महतोले गहभरि आँसु खसाल्दै भने, “बुहारी भक्कानिएर रुने, कराउने गरिरहेकी छन् । उनको स्वास्थ अवस्था बिग्रिएकाले घरमै डाक्टर बोलाएर उपचार गराउँदै आएका छौंँ ।”
जवाहिरकी पत्नी प्रतिमा अहिले कोहीसँग पनि दोहोरो कुराकानी गर्न सक्ने अवस्थामा छैनन् । “त्यस दिनदेखि मुखमा अन्न, पानी परेको छैन । सलाइनपानीकै भरमा कतिन्जेल बचाउन सकिएला ? बुहारीको स्वास्थ अवस्था बिगँ्रदै गइरहेको छ,” उनले भने ।
जवाहिरका पत्नी प्रतिमा मात्रै होइन, जवाहिरका बुबा, आमा, छोराछोरी, आफन्त इष्टमित्र र छिमेकीहरूको समेत आँखा ओभाएका छैनन् । “जवाहिर घरकै आडभरोसा थियो । उसले बस चलाएर नै घरखर्च चलाउँदै आइरहेको थियो,” बुबा भगवान्ले भने, “छोरा त्रिशूलीको पहिरोमा परेर हराइरहेको छ । मलाई बुढ्यौलीले छोइसक्यो । अब यी ससाना नाति–नातिनालाई कसले पालनपोषण र रेखदेख गर्ला भन्ने चिन्ताले सताइरहेको छ ।”
पहिरोमा परेर आफ्नो माइलो छोरा हराइरहेकामा आमा फुलेनादेवीको रुदाँरुँदै आँखा सुन्निएको छ । आफ्नो छोराका बारेमा अहिलेसम्म कुनै पनि खबर थाहा नपाउँदा निकै चिन्तित भएको बताए । “बिहीबार बेलुकापख छोरासँग खासै धेरै कुराकानी भएन । त्यो दिन छोरा बुबासँग मात्रै कुराकानी गरेर बिदा भएर बस चलाउन गए”, उनले भने, “अहिलेसम्म छोराको न त श्वास नै पाउन सकेका छौँ, न त लास नै पाउन सकेका छौंँ । पहिरोमा छोरो हराएदेखि मेरो मन बेचैन छ ।”
उनले आफ्नो छोरा पहिरोमा हराएपछि सान्त्वना दिनका लागि एञ्जल बसका प्रतिनिधि, स्थानीय नेता, सांसद तथा अन्य कोही पनि नआउँदा दुःख झनै बढेको बताए । “छोराले फर्निचर चलाउने भन्दै ५० लाखभन्दा धेरै कर्जा लिएको छ,” उनले भने, “छोरा नै नरहेपछि कर्जा कसरी तिर्ने भन्ने पीरले अर्काे चिन्ता थपिरहेको छ ।”
बुबाका अनुसार जवाहिर डेढ दशकदेखि सवारीसाधन चलाउँदै आएका थिए । जवाहिरले एञ्जल डिलक्स बस चलाउन थालेको पनि चार–पाँच वर्ष भइसकेको छ । उनले प्रायः रात्रिबस चलाउँदै आएका थिए ।
जवाहिरका दुई छोरा र एक छोरी रहेका छन् । जेठी छोरी प्रिती कक्षा आठमा अध्ययनरत छिन् भने जेठो छोरा कक्षा ४ र कान्छो छोरा बिटु युकेजीमा अध्ययनरत छन् । १३ वर्षीय छोरी प्रिती महतोले आफ्नो बुबाको जतिसक्दो छिटो उद्धार गरिदिन अनुनय गरेका छन् । “बुबालाई जतिसक्दो छिटो पानीबाट निकालिदिनूस् । अरू हामीलाई केही चाहिएको छैन,” उनले भने ।
जवाहिरका कान्छो भाइ मुन्ना महतो अहिले हराइरहेका दाजुको खोजीमा नारायणगढ–चितवनमा खटिरहेका छन् । आज दिउँसोसम्म जवाहिरको अवस्था पत्ता लाग्न सकिरहेको छैन । हराइरहेका जवाहिरका दिदी सुशीलादेवी महतोले भाइ पहिरोमा हराएसँगै परिवारको खुसी खोसिएको बताए ।
भगवान्का चार छोरा र एक छोरी छन् । तीमध्ये पहिरोमा परेर हराइरहेका जवाहिर माइलो छोरा हुन् । जेठो सुनिल कतारमा र साइलो हिरालाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका छन् भने कान्छो मुन्ना नेपालमा नै छन् ।
वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बस चालकसहित १९ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार एञ्जल बसमा २७ जना यात्रु रहेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले एञ्जल बसमा सवारमध्ये अहिलेसम्म तीन जनाको शव भेटिएर परिवारका सदस्यले सनाखत गरेको बताए । उनले भने, “अहिले हामीले बेपत्ताहरूको खोजी कार्यलाई तीव्र पारिरहेका छौँ ।”