सोनिया धर्मशालाको ३ कठ्ठा १३ धुर १ कनमा जग्गामा अवैध कब्जा
टोलपडोस समाचारदाता
जनकपुरधाम, २ साउन ।
केही व्यक्तिले मिल्दोजुल्दो नाउँमा गैरसरकारी संस्था दर्ता गरी जनकपुरधामको पुरानो सोनिया धर्मशालाको जग्गा अवैध कब्जा गरेका छन् । कब्जा गर्नेहरूमा सोनिया धर्मशाला निर्माण गर्ने स्व.सोनिया साहकी परिवारका एक सदस्य समेत छन् ।
२०४७ सालमा जग्गाधनी प्रमाणपत्र बनेको सोनिया धर्मशालाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित तीन कठ्ठा १३ धुर १ कनमा जग्गा कब्जा गर्न भूमाफियाहरूले धर्मशालाकी संस्थापक स्व.सोनियाका भतिज पर्ने अवकाशप्राप्त कर्मचारी रामनारायण साहको अगुवाइमा संघसंस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम सोनिया धर्मशाला नामक गैरसरकारी संस्था गठन गराएका छन् ।
२०७४ साल मंसिर १९ गते जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको सो संस्थाले ०४७ साल साउन २६ गते सोनिया धर्मशाला नाउँको साबिक कित्ता नम्बर १६९७ र अहिलेको कित्ता नम्बर ७७ को जग्गा मिल्दोजुल्दो सोनिया धर्मशाला नामक गैरसरकारी संस्था गठन गरी भूमाफियाहरूले व्यावसायिक भवन निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाबाट नक्सासमेत पास गराएका छन् ।
सोनिया धर्मशालाको जग्गा भने गुठीबाट प्राप्त भएको जग्गामा निर्माण भएको अभिलेखमा देखिन्छ ।
सोनिया धर्मशालाको कानुनी स्वामित्व जग्गाधनी प्रमाण पुर्जा कायम भएको २७ वर्षपछि धर्मशाला निर्माता परिवारका साहको अध्यक्षतामा स्थापना भएको सोही नाउँको संस्थाले आफ्नो लेटरहेडमा बेहोरा लेखी जनकपुरधाम उपमहानगरपालिका कार्यालयबाट नक्सा पास गराएको छ । उपमहानगरपालिका कार्यालयले २०४७ सालमा जग्गाधनी प्रमाणपत्र कायम भएको सोनिया धर्मशाला र २०७४ सालमा गैसरसरकारी संस्थाका रूपमा गठन भएको सोनिया धर्मशालाका बीचमा वैधानिक समानता नकेलाई सो संस्थाको निवेदनका भरमा २०७८ भदौ १६ गते भवन बनाउने नक्सा पास गरेको देखिन्छ ।
सोनिया धर्मशाला नाउँ गरेको गैरसरकारी सस्थाले नै अहिले सोनिया धर्मशालाको जग्गामा व्यापारिक प्रयोजनको सातकाठे भवन निर्माण गरी भाडामा लगाएको छ । सोही भवनपछाडि संस्थाले थप निर्माण कार्य गरिरहेको छ । आधा शताब्दी पुरानो सोनिया धर्मशाला भने रेखदेख अभावमा जीर्ण बनेको छ । धर्मशाला निर्माणमा प्रयोग गरिएका लाखौँ मूल्यबराबरका गोलिया काठ भने गायब पारिएको छ ।
एक कानुनविद्का अनुसार मिल्दोजुल्दो नाउँ राखेर अर्कै वैधानिक अस्तित्व भएको संस्थाको स्वामित्व दाबी तथा उपभोग गर्र्ने र त्यसका लागि भवन निर्माणका लागि नक्सा पास गरिदिने जनकपुरधाम उपमहानगरपालिका कार्यालय दुवैले गम्भीर अनियमितता गरेको बताए ।
उनले भने, ‘जानकी मन्दिर नाउँ गरेको गैरसरकारी संस्था गठन गर्दैमा कोही जानकी मन्दिरको वैधानिक स्वामित्व हासिल गर्न सक्दैन । सोनिया धर्मशालाको सन्दर्भमा छोराको जन्मपछि आमाको जन्म भएको देखिन्छ । यो अप्राकृतिक र अवैध हो ।’
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले पछि दर्ता भएको संस्थाको निवेदनका आधारमा पहिले जग्गाधनी कायम भएको संस्थाको जग्गामा भवन निर्माण गर्ने अनुमति आफ्नो पालामा नदिइएको बताए । उनले भने, ‘जग्गाको वैधानिक स्वामित्व निक्र्योल गरी नक्सापास गरिनु हुँदैन ।’
नक्सा पास भएको बेला जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले सोनिया धर्मशालाको रेखदेख गर्ने रामनारायण साह धर्मशाला निर्माण गर्ने परिवारका सदस्य रहेका आफूलाई जानकारी रहेको तर नयाँ संस्थाका निवेदनबाट नक्सापास भएको विषयमा जानकारी नरहेको बताए ।