मधेश प्रदेश सरकारमा लगिँदै काँग्रेस, चार मन्त्रीको शपथ आजै
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ साउन ।
जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि नेपाली काँग्रेसलाई सरकारमा सहभागी गराइने भएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिँहले आज(बिहीबार) अपराह्न पाँच बजेपछि काँग्रेसका तर्फबाट विभागसहित नियुक्त गरिने चार मन्त्रीलाई शपथग्रहण गराइने जानकारी दिए ।
मुख्यमन्त्री सिँहको सचिवालयका अनुसार काँग्रेसबाट जनार्दनसिँह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सुनिलकुमार यादवलाई अर्थ, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर रायलाई श्रम तथा यातायात मन्त्रालय दिइने भएको छ ।
मुख्यमन्त्री सिँहलाई गत असार २२ गते मधेश प्रदेशसभामा विश्वासको मत दिनुअघि काँग्रेसलाई अर्थसहित चार मन्त्रालय दिने सहमति भए पनि असार २५ गते सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले अर्थ मन्त्रालय नदिने अडान लिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
त्यसयता काँग्रेस र मुख्यमन्त्रीबीचको संवाद बाधित रहँदै आएको थियो । पूर्वसहमतिअनुसार मुख्यमन्त्री सिँहले काँग्रेसलाई सरकारमा सहभागी गराउन संवादसमेत नगरेको भन्दै काँग्रेस संसदीय दलको आज बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भएको थियो ।
काँग्रेस संसदीय दलको बैठकको निर्णय आउनुअघि नै मुख्यमन्त्री सिँहले पूर्वसहमतिअनुसार काँग्रेसलाई सरकारमा लैजान थालेको हो ।
संघमा काँग्रेस र एमालेबीच सत्ता गठबन्धन बनिरहँदा मधेश प्रदेश मधेशी दललाई दिने सहमतिअनुसार काँग्रेसले जनमत पार्टीका मुख्यमन्त्री सिँहलाई विश्वासको मत दिएको थियो । त्यसअघि जसपा नेपालको सरोजकुमार यादव नेतृत्वको सरकारलाई बिस्थापित गर्नेगरी गठन भएको सिँह सरकारमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को बहिर्गमन भएको थियो ।