स्वचालित प्रविधिबाट ड्राइभिङ टेस्ट सञ्चालन गर्ने श्रम तथा यातायात मन्त्रीको पहिलो निर्णय
टोलपडोस समाचारदाता
जनकपुरधाम, ३ साउन ।
मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय यादवले प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र मधेश भवनस्थित श्रम तथा यातायात मन्त्रालयमा पुगी कार्यभार ग्रहण गरेका छन् ।
कार्यभार सम्हालेलगत्तै मन्त्री यादवले अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक सञ्चालन गर्ने पहिलो निर्णय गरेका छन् ।
मधेश प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा म्यानुअल तबरबाट चालक प्रमाणपत्रका लागि परीक्षा हुने गरेका बेला कम्प्युटर इन्टेलिजेन्स प्रणालीमा आधारित स्वचालित मेसिनबाट परीक्षा हुने व्यवस्थालाई अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक भनिन्छ ।
मन्त्रालयका उपसचिव रञ्जित यादवका अनुसार चालक प्रमाणपत्रका लागि नाङ्गो आँखाले परीक्षण भइरहँदा त्रुटि हुने सम्भावना र रकमको चलखेल सम्भावनालाई अनुमानयोग्य, विश्वसनीय कम्युटरकृत इन्टेलिजेन्सका आधारमा स्वचालित प्रविधिको उपयोगले समाप्त गर्ने बताए ।
सो प्रविधिका आधारमा चालक प्रमाणपत्र परीक्षा सञ्चालन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ ।
मन्त्री यादवले गरेका निर्णयअनुसार महोत्तरीको बर्दिवास वा सिरहाको लहानमा यसै वर्षबाट सो प्रविधि सञ्चालनमा ल्याइनेछ ।