मधेश प्रदेश सरकारमा काँग्रेसको नेतृत्व गर्ने मन्त्री जनार्दनसिँह क्षेत्री

ठाकुररामको लालकिल्ला भत्काउने विद्यार्थी नेतादेखि तत्कालीन जिविसका सभापतिसम्म

२०८१ श्रावण ४, शुक्रबार १०:२४
तस्बिरमा देब्रेबाट जनार्दनसिँह क्षेत्री र दाहिने राकेश सिँह ।

अनिलकुमार कर्ण/टोलपडोस

जनकपुरधाम, ४ साउन ।
जीवनमा राजनीतिक यात्रा बडो कठोर र क्रुर हुन्छ । सत्ताको सहवास र विपक्षको वनवास मात्र होइन, लामो कालखण्डसम्म वा सधैँभरिका लागि अलप हुने जोखिम निरन्तर रहन्छ । तर, धीरता नै त्यो शक्ति र क्षमता हो जसले आरोलो लागेका व्यक्तिको राजनीतिक जीवनमा एउटा सुखद पडाव ल्याउँछ ।

४० दशकका उदयीमान, प्रखर र तेजस्वी विद्यार्थी नेता जनार्दनसिँह क्षेत्री शासनसत्ताको लामो अभ्यासपछि केही दशक नै नेपाली काँग्रेसको आन्तरिक सांगठनिक राजनीतिक ब्युहमा अल्झिए । संसदीय राजनीति आरम्भ गर्न प्रदेशसभाको पहिलो निर्वाचनमा औसर पाए । तर, झिनो मतले पराजित हुँदा प्रदेश संसद्मा उनको प्रवेश भएन । समयले सही कामका लागि साइत पनि जुराउँछ ढिलाचाँडो । संविधान जारी भएपछिको दोस्रो आम निर्वाचनमा पर्सा ३(२) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका क्षेत्री संसद्को दैलो भएर रोस्ट्रमअघि पनि पुगे । अनि अहिले प्रदेशको शासनसत्ताका हिस्सा पनि बनेका छन् ।

पार्टीको नेतृत्व गर्दै मधेश प्रदेश सरकारमा बिहीबार सहभागी भएका क्षेत्रीको राजनीतिक अतीतका पाटाहरू अन्त्र्य सङ्घर्षले भरिएका छन् । जुँगाको रेखी बस्दै गरेका बेला जनमतसंग्रहमा बहुदल जिताउन उत्साह, संकल्प र जाँगरका साथ नारा लगाइरहेका किशोरवयका क्षेत्रीले विद्यार्थी नेताका रूपमा प्रजातन्त्र पुनसर््थापनाको लडाइप्रति अटल, अडिग र अविचल साहस देखाएर ४० दशकमा प्रशंसा र लोकप्रयिताको शिखर नै चुमे भने तत्कालीन राज्यसत्ताले द्रोही चिह्नित गरेर दिएका यातनाहरूबाट डामिए ।

नेपालको राजनीतिमा पछिल्ला तीन दशक आन्दोलन र विद्रोहका कथाहरू छन् । राजनीतिक मागका लागि ज्यान उत्सर्ग गर्नेहरूको आँट, वीरता र दृढताले परिवर्तनका रूपरेखा पनि कोरिएका छन् । तर देशका सबै खाले परिवर्तनका लागि भएका आन्दोलनका लागि आधार भनेकै तत्कालीन राणा र पञ्चायतका शासकविरुद्ध अर्थात् निरङ्कुश शासन व्यवस्था विसर्जन गरेर प्रजातन्त्रको नयाँ अध्याय लेख्ने सङ्घर्ष नै हुन् । पर्साका काँग्रेसी नेता क्षेत्री प्रजातान्त्रिक आन्दोलनका दरिला नेतामध्येका एक हुन् ।

एउटा संयोग नै भन्नुपर्छ, नेविसङ्घका तत्कालीन कद्दावर नेता सुरेन्द्र चौधरी दुईवर्षे कार्यकालमा निस्क्रियता कारण ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको सभापति पदमा नदोहोरिएपछि उनको कार्यसमितिका सदस्य रहेका क्षेत्रीले ०४५ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेविसङ्घको टिकटबाट सभापति निर्वाचित भए । त्यसताक नेविसङ्घका केन्द्रीय नेता महेन्द्र यादव जनकपुरधामस्थित राराब क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । उनै महेन्द्र यादव नेपाली काँग्रेसको सहमहामन्त्री भएका बेला क्षेत्रीले प्रदेश सरकारमा पार्टीको नेतृत्व गर्ने औसर पाएका हुन् ।

ठाकुरराम क्याम्पस कुनै बेला कम्युनिस्टहरूको लालकिल्ला भनेर परिचित हुँदा क्षेत्रीको त्यहाँ प्रवेश भएको थियो । ०४० सालतिर । जनमतसंग्रहमा बहुदल पराजित भए पनि देशमा विद्यार्थी आन्दोलनले असँख्य बलिदानीको शृंखलाबाट उचाइ लिइसकेको बेला हो यो । ठाकुरराममा ०४१ सालको स्ववियु निर्वाचन हुँदा सुरेन्द्र चौधरी सभापति निर्वाचित भए । चौधरी नेतृत्वको कार्यसमितिमा क्षेत्री भने सदस्य बने । त्यसपछि चौधरी दुई वर्षसम्म कलेजमा देखा नपरेपछिको आक्रोश र असन्तुष्टि विद्यार्थीमा थियो । त्यसका बाबजुद ०४३ को स्ववियु निर्वाचनमा चौधरीले नै सभापति टिकट पाए । अनेरास्ववियुका बालकृष्ण ढकाल सभापतिमा निर्वाचित भए । महोत्तरीवासी ढकाल ०५४ को स्थानीय तह निर्वाचनमा जलेश्वर नगरपालिकाका मेयर बनेका थिए । त्यतिबेला क्षेत्री जिल्ला विकास समिति पर्साका सभापति भएका थिए ।

०४३ को स्ववियु निर्वाचनमा नेविसङ्घको पराजयपछि विद्यार्थी नेता क्षेत्रीले कलेजभित्र संगठन सुदृढीकरण र विस्तारको अभियान नै थाले । विद्यार्थीका मागको नाउँमा तत्कालीन पञ्चायती शासकविरुद्ध आक्रामक तवरले अघि बढे । विद्यार्थी नेता राकेश सिँह, लक्ष्मीनाथ नेपाल आदिहरूसँग मिलेर विभिन्न स्वरूपमा आन्दोलन जारी राखे । उनको अदम्य साहसकै प्रतिफल थियो २०४५ सालको निर्वाचनमा उनकै नेतृत्वमा नेविसङ्घ ठाकुरराम क्याम्पसमा विजयपताका फहरायो । तिनताक अनेरास्ववियुका रामकुमार भट्टराईलाई उनले सभापति पदमा पराजित गरेका थिए ।

संगठन बलियो बनाउन र तत्कालीन सत्ताविरुद्ध आन्दोलन गरिरहने नेविसङ्घको सङ्घर्षको एउटा स्वरूप आमरण अनसनमा पनि थियो । कैयौँ दिनसम्म आमरण अनसनमा बसेका क्षेत्रीको स्वास्थ्यस्थिति बिग्रियो । चिकित्सकले अस्पतालमा लगेर उपचार नगरे ज्यानरक्षा गर्न नसकिने बताए । तर, क्षेत्रीले अनसनस्थल छाड्न मानेनन् । पछि बेहोस भएपछि मात्र उनलाई अस्पताल लगेर सलाइनपानी दिइएको थियो । अस्पतालमा अलिक तङ्ग्रिएपछि चिकित्सको सल्लाह बेवास्तवा गर्दै उनी अनसनस्थल फर्केका थिए ।
‘परिवर्तनका लागि गरिएका आन्दोलनप्रतिको मोह र प्रजातन्त्र पुर्नस्थापनाको अन्तर्आकांक्षा नै जनार्दनजीको शक्ति थियो । जसलाई उहाँले कहिल्यै क्षीण हुन दिनुभएन,’ क्षेत्रीका समकालीन नेता राकेश सिँहले सम्झे ।

२०४६ सालको आन्दोलनमा क्याम्पसबाटै पक्राउ गरिएका क्षेत्रीलाई निर्घात कुटपिट गर्दै त्यतिबेला बिर्तामा रहेको जिल्ला प्रहरी कार्यालय पर्सामा लगियो । २०४६ को आन्दोलन सुरु भएकै दिन पक्राउ परेका उनलाई कानुनविपरीत धेरै दिनसम्म थुनामा राखियो । त्यसपछि मात्र वीरगञ्ज कारागार पठाइयो । उनी आन्दोलन सकिएको पाँचसात दिनपछि मात्रै रिहा भए ।

आन्दोलन सकिएपछि उनी नेविसङ्घ पर्साको नेतृत्व पनि गरे । पञ्चायत व्यवस्थाको उतराद्र्धमा नेविसङ्घका तत्कालीन सभापति बालकृष्ण खाँडले केन्द्रले आएर काम गर्न उनलाई आग्रह गरेका थिए । तर, पर्सामै आफ्नो आवश्यक्ता रहेको भन्दै उनले काठमाडौं जान असमर्थतता जनाएका थिए । उनका निकटका अनुसार क्षेत्रीबाट भएको यो सबैभन्दा ठूलो राजनीतिक भुल थियो । ‘त्यतिबेला उहाँ केन्द्रीय राजनीतिमा सक्रिय भएको भए आज केन्द्रकै शक्तिशाली र प्रभावशाली नेता बन्नुहुन्थ्यो । तर, नियतिले रोक्यो,’ उनीनिकट एक पुरानो राजनीतिकर्मीले स्मरण गरे ।

२०४६ को आन्दोलन सफल भएपछि उनी पहिलो स्थानीय निर्वाचनमा जिल्ला विकास समिति पर्साका उपसभापति चुनिए । सभापति थिए रामाज्ञाप्रसाद रौनियार । लगत्तै भएको अर्को स्थानीय निर्वाचनमा उनी जिल्ला विकास समिति पर्साका सभापतिमै निर्वाचित भए ।

समय थियो नेपाली काँग्रेस विभाजनको । क्षेत्री शेरबहादुर नेतृत्वको नेपाली काँग्रेस प्रजातान्त्रिकमा लागे । पार्टी एकीकरणपछि पनि पर्सा काँग्रेसमा उनको भूमिका ठिकठाक नै रह्यो ।

क्षेत्री अहिले मधेश प्रदेश सरकारमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन् । सरकारमा पार्टीका नेतृत्वकर्ता र मन्त्रीका रूपमा उनको कार्यकाल सार्थक रहने अपेक्षा गर्न सकिन्छ ।

जनार्दनसिँह क्षेत्री(पछाडिको पंक्तिमा दाह्री भएका) सहित आमरण अनसनकारी विद्यार्थी नेताहरू राकेश सिँह(निलो ज्याकेटमा अगाडि) लगायत ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH