मधेश प्रदेश

शपथग्रहणमा मन्त्रीहरूले राखेनन् मर्यादाक्रमको हेक्का

२०८१ श्रावण ४, शुक्रबार १४:०८


टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ साउन ।
मधेश प्रदेशमा बिहीबार साँझ मन्त्रीहरूको शपथग्रहणमा मर्यादाक्रम उल्लंघन हुनेगरी मन्त्रीहरू लाम लागेको पाइएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहले नियुक्त गर्दा कायम गरेको वरीयताको हेक्का नगरी नवनियुक्त मन्त्रीहरूले आफ्ना सुविधा र अनुकूलतामा पंक्तिबद्ध भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कार्यालय मधेश प्रदेशले आयोजना गरेको शपथग्रहणमा उद्घोषकले वाचन गरेको नाउँसँगै क्रमिक रूपमै मञ्चमा उक्लिएका मन्त्रीहरू मञ्चमा पुगिसकेपछि मर्यादाक्रमको हेक्का नराखी लामबद्ध भए ।

मुख्यमन्त्री सिँहले कायम गरेको र त्यसअनुसार प्रदेश प्रमुखबाट अनुमोदित वरीयताअनुसार शपथग्रहणमा माथ्लो र तेस्रो वरीयताका मन्त्री जनार्दनसिँह क्षेत्री देब्रेबाट दोस्रो तथा दाहिनेबाट चौथो नम्बरमा उभिए भने त्यसपछिको वरीयताका मन्त्री रानी शर्मा तिवारी देब्रेबाट चौथोे र दाहिनेबाट दोस्रो नम्बरमा उभिन् ।

शपथग्रहण गर्नेमा चौथो वरीयताका मन्त्री शेषनारायण यादव दाहिनेबाट पहिलो र देब्रेबाट पाँचौँ नम्बरमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको छेउमा उभिएका छन् । शपथग्रहण गर्नेमा तेस्रो वरीयताका मन्त्री सुनिलकुमार यादव देब्रेबाट तेस्रो र दाहिनेबाट दोस्रो नम्बरमा देखिए ।
यसैगरी शपथग्रहण गर्नेमा पाँचौँ वरीयताका मन्त्री कौशलकिशोर राय भने देब्रेबाट पहिलो नम्बरमा थिए । मर्यादाक्रमअनुसार उभिँदा रायमात्र सही स्थानमा उभिएको देखिन्छ ।

‘शपथग्रहणमा मर्यादाक्रमअनुसार नउभिँदा वैधानिक समस्या हुँदैन । तर, मर्यादाक्रमअनुसार व्यवहार गर्नुपर्ने परम्परा तथा अभ्यास अनुकरण नहुँदा सार्वजनिक शिष्टताको विषय आकर्षिक हुन्छ,’ कार्यक्रममा सहभागी एक पूर्वमन्त्रीले भने । उनका अनुसार मर्यादाक्रमअुसार उभिएर शपथग्रहण गराउने दायित्व प्रदेश प्रमुख कार्यालयको हुन्छ । तर, त्यस विषयमा प्रदेश प्रमुख कार्यालयले खासै ध्यान दिएको देखिएन ।

प्रदेश प्रमुखका स्वकीय टिकाराम उप्रेतीले शपथग्रहणका लागि मञ्चमा लामबद्ध मन्त्रीहरूलाई आफूले संकेत गरी मर्यादाक्रमअनुसार उभिन आग्रह गरे पनि उनीहरूले ध्यान नदिएको बताए ।

शपथग्रहणमा मञ्चमुनि अन्य अतिथिका लागि राखिएको कुर्सीसमेत अव्यवस्थित हुँदा जसले जहाँ पाए त्यहीँ बस्नुपरेको स्थिति थियो भने प्रयोग गरिएको ब्यानरले शपथग्रहणजस्तो महत्वपूर्ण कार्यक्रमको मर्यादालाई कमजोर बनाएको टिप्पणी नेताहरूले गरेका छन् ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री रामसरोज यादवले शपथग्रहण समारोहमा प्रयोग गरिएको ब्यानरमा समारोहको सट्टा कार्यक्रम लेखिएको र मितिसमेत उल्लेख नभएको आफूले नोटिस गरेको जानकारी दिए ।

प्रदेश प्रमुख भण्डारीका स्वकीय उप्रेतीले शपथग्रहणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पर्याप्त समय नदिँदा एउटै ब्यानरले काम चलाउनुपरेको हुँदा त्यस्तो त्रुटि भएको बताए ।

बिहीबारका निर्धारित शपथग्रहण कार्यक्रमबारे मध्याह्नमै सार्वजनिक भएको थियो । अझ् लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाललाई सहभागी गराउने भन्दै समारोह दुई घन्टाभन्दा ढिला तय गरिएको थियो ।

शपथग्रहणका लागि मञ्चमा प्रदेश प्रमुख भण्डारी र मुख्यमन्त्री सिँहका लागि दुईवटा सोफा राखिएका थिए । सामान्यतया मन्त्रीहरूको शपथग्रहणमा मञ्चमा प्रदेश प्रमुख र मुख्यमन्त्री बस्ने लहरमा सभामुखसमेतका लागि बस्ने व्यवस्था गरिएको हुन्छ । तर, सभामुख तथा उपसभामुख दुवै जनकपुरधाम बाहिर रहेकाले मञ्चमा तिनका लागि बस्ने व्यवस्था गरिएको थिएन । तर, कार्यक्रम सञ्चालकले भने आसनग्रहणका लागि सभामुखसमेतलाई आग्रह गरेको पाइयो ।

प्रदेश प्रमुख भण्डारीका स्वकीय उप्रेतीले सभामुख र उपसभामुख बाहिर रहेका जानकारी प्रदेश प्रमुख कार्यालयलाई भएकै आधारमा मञ्चमा दुईजना बस्ने व्यवस्था भएको तर नासु स्तरका कर्मचारीले कार्यक्रम सञ्चालन गर्दा सभामुखलाई आसनग्रहणका लागि आग्रह गरिएको जस्तो गल्ती भएको बताए ।

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at NSJF Nepal

Maintained By PROTECH