मधेश प्रदेशमा गजब संयोग : एउटै मन्त्रालयमा मन्त्री लोसपाकी, राज्यमन्त्री एमालेकी

टोलपडोस समाचारदाता
जनकपुरधाम, ४ साउन ।
मधेश प्रदेशको संयुक्त सरकारमा सहभागी लोसपा नेपालकी रानी शर्मा तिवारी मन्त्री रहेकी शिक्षा तथा सँस्कृति मन्त्रालयमा नेकपा एमालेकी शारदादेवी थापा राज्यमन्त्री छिन् ।
धेरैवटा दलहरूको सरकारमा समेत दुई फरक दलका नेता एउटै विभाग(मन्त्रालय) मा मन्त्री र राज्यमन्त्री भएका उदाहरण शासनाभ्यासमा बिरल मानिन्छ ।
मन्त्री तिवारी मन्त्री नियुक्त भएकी बिहीबार साँझअघि नेकपा एमालेका राजकुमार लेखी शिक्षा तथा सँस्कृति मन्त्री थिए । मन्त्री तिवारीलाई शिक्षा तथा सँस्कृति मन्त्री दिनेगरी भएको मन्त्रिपरिषद् पुनर्गठनमा लेखीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
राज्यमन्त्री थापा लेखीसँगै शिक्षा तथा सँस्कृति राज्यमन्त्रीमा नियुक्त भएका थिइन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले बिहीबार अन्तिम क्षणमा लोसपा नेपालकी तिवारीले शिक्षा तथा सँस्कृति मन्त्रालयमा शपथग्रहण गर्न मानेकाले हतारमा राज्यमन्त्री थापाको विभाग मुख्यमन्त्री सतिशकुमार सिँहले परिवर्तन गर्न नसकेको बताए । उनले छिट्टै राज्यमन्त्री थापा गृह, सञ्चार तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा जाने जानकारी दिए ।
शिक्षा तथा सँस्कृति मन्त्री तिवारीले हतारहतारमा नेकपा एमालेकै राज्यमन्त्री मन्त्रालयमा रहन गएको भन्दै छिट्टै उनको व्यवस्थापन हुने बताइन् ।
दुई मन्त्रालयको माग गर्दै आएको लोसपा नेपालले प्रदेशमा एउटा मन्त्रालय पाएको छ । सो पार्टीले पाएको शिक्षा तथा सँस्कृति मन्त्रालयमा मन्त्रीसँगै थप एक राज्यमन्त्री लोसपाकै रहने बताइन्छ ।






