संविधान संशोधनको बहस सुरु भएपछि हिन्दुवादीहरूको सक्रिय
टोलपडोस समाचारदाता
काठमांड़ौं, ५ साउन ।
राष्ट्रिय एकता अभियान काठमाडौंले आज संघीय हिन्दु गणतन्त्र विषयमा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले देशका प्रमुख दलहरू मिलेर सरकार बनाउँदै संविधान संशोधनका कुरा उठाइरहेको अवस्थामा संविधान नेताहरूको कुर्सी स्वार्थका लागि नभई संविधान निर्माणका बेला जनताले दिएको सुझाव अनुसार संशोधन हुनुपर्ने बताए ।
संविधान निर्माणका क्रममा जनताले संघीय हिन्दु गणतन्त्रका लागि दिएको सर्वाधिक सुझावलाई संविधानमा समावेश गर्नुपर्ने उनले जोड दिए ।
दलहरूले संविधान संशोधन गर्ने हो भने राष्ट्रिय एकता अभियानले देशभर जनजागरण अभियान चलाएर संघीय हिन्दु गणतन्त्र कायमका लागि दबाब सिर्जना गर्ने योजना बनाएको यादवले बताए ।
कार्यक्रममा अभियानका वरिष्ठ नेता विपी यादवले सत्तास्वार्थका लागि दुई विरोधी दल एक ठाउँमा आएको भन्दै संविधान संशोधनमा समावेशिताको सिद्धान्तलाई अझ बलियो नगरे देशमा एकल जातीय व्यवस्था हाबी हुने र त्यसबाट हिन्दुत्वलाई नोक्सानी हुने चेतावनी दिए । उनले राष्ट्रिय एकता अभियानले उठाएका मुद्दाहरू सशक्त हुँदै गएको र आन्दोलनलाई निष्कर्षसम्म पुर्याउन सशक्त बनाउनुपर्ने बताए ।
युवा विभागका संयोजक दिवस पटेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र यदुवंशी, विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, काठमाडौं सम्पर्क समितिका संयोजक विनोद सिंहलगायतले पनि आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा दलित अभियन्ता रामकुमार पासवानको नेतृत्वमा १० जना राष्ट्रिय एकता अभियानमा विधिवत् रूपमा प्रवेश गरेका छन् ।