मधेश प्रदेश

कर्मचारीको लापारबाही रोक्न मुख्यमन्त्री सिँहले गरे ११ मन्त्रालयमा छड्के

२०८१ श्रावण ६, आईतवार १८:२६

टोलपडोस समाचारदाता
जनकपुरधाम, ६ साउन ।
केही समय सत्ता समीकरण निर्माण, बजेट र सरकारलाई पूर्णता दिने कार्यमा घोटिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले आइतबार आफ्नो कार्यालयसहित प्रदेशका ११ वटा मन्त्रालयमा छड्के गरेका छन् ।

प्रदेशका मन्त्रालयहरू लगायत मातहतका कार्यालयहरूमा निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी बनाएर अन्यत्र हिँड्ने, सेवाग्राहीलाई मर्का पर्नेगरी सम्बन्धित कक्षमा नभेटिने जस्ता गुनासो आइरहेका बेला मुख्यमन्त्री सिँहले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मधेश भवनस्थित विभिन्न मन्त्रालयहरूमा छड्के गरेका हुन् ।

आइतबार कार्यालय समय सुरु भएलगत्तै मुख्यमन्त्री सिँहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, गृह, सञ्चार तथा कानुन, भौतिक पूर्वाधार विकास, जलस्रोत, सिँचाइ तथा खानेपानी, श्रम तथा यातायात, स्वास्थ्य तथा जनसँख्या, उद्योग, वाणिज्य तथा पर्यटन, वन तथा वातावरण, युवा तथा खेलकुद र शिक्षा तथा सँस्कृति मन्त्रालय पुगेर मुख्यमन्त्री सिँहले निरीक्षण गरेका छन् ।

निरीक्षणक्रममा सम्बद्ध मन्त्रालयमा कर्मचारीहरूको उपस्थिति वा अन्यत्र काजमा खटिएका विषयमा मुख्यमन्त्री सिँहले अत्यन्त मिहिन ढंगले जानकारी लिएका छन् । उनले कर्मचारीहरू कार्यालयमा हाजिरी नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या रहेको पाइएको बताए ।

मुख्यमन्त्री सिँहले अनुगमनक्रममा कर्मचारीहरूमा भेटिएका त्रुटिबारे सम्बन्धित कर्मचारीलाई पत्र लेखेर जवाफ माग्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिँहले विभिन्न मन्त्रालयमा देखिएका समस्या र तिनका कारणबारे जवाफ माग्न निर्देशन दिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया !

2021 Copyrights Reserved at Tolpados

Maintained By PROTECH