प्रधानमन्त्री ओलीलाई दुईतिहाइ विश्वासको मत
२०८१ श्रावण ६, आईतवार १९:४६
काठमाडौँ, ६ साउन(रासस) ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरेका विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । बैठकमा भएको मतदान परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव स्वीकृत भएको जानकारी गराए ।
मतदानमा कुल दुई सय ६३ सदस्यले भाग लिएकामा प्रधानमन्त्रीले राखेका विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतका राजनीतिक दल सम्वद्ध सांसदको गरी कुल एक सय ८८ मत परेको थियो भने विपक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलगायतका दलका गरी ७४ मत परेको छ । प्रधानमन्त्रीले प्राप्त गर्नुभएको उक्त मत संसदमा रहेका कूल सदस्यको दुईतिहाइ हो ।
मतदानमा एक सदस्य तटस्थ रहनुभएको थियो । गत असार २८ गते एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन ७ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।